
काठमाडौं । आइतबारदेखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा उक्त ट्विनअटर भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।
जोमसोमबाट नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विनअटर खोज्न गइरहेको बेलामा खोजी तथा उद्धार टोलीले दुर्घटनाग्रस्त विमानको भग्नावशेष भेटाएका हुन् । थप विवरण केहि बेलमा सार्वजनिक गरिने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
क्याप्टेन प्रभाकर घिमिरेले बिहान ९ः५५ बजे विमान पोखराबाट जोमसोमको लागि विमान उडाएका थिए । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमानमा धनुषाका एकै परिवारको सात जना रहेको पुष्टि भएको छ ।
पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन छ । सो एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ ।
विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ ।
गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए । विमान बेपत्ता भएको खबरले परिवारमा रुवावासी चलेको छ भने गाउँमा नै चिन्तित भएका छन् । सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस