aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पर्यटक आगमन संख्या घट्यो, अप्रिलमाभन्दा मेमा ७ हजार कम आए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ जेठ २०७९
पर्यटक आगमन संख्या घट्यो, अप्रिलमाभन्दा मेमा ७ हजार कम आए

काठमाडौं । पछिल्लो महिना  पर्यटक आवागमनको संख्या घटेको छ । सन् २०२२ को जनवरीदेखि निरन्तर रुपमा बढेको पर्यटकहरुको संख्या मे महिनामा घटेको देखिएको हो । अप्रिल महिनाको तुलनामा यस महिना ७ हजार ९८१ पर्यटकहरु घटेको अध्यागमन विभागले जनाएको छ ।  

अध्यागमन विभागको तथ्यांक अनुसार मे महिनामा ५३ हजार ६०८ पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो अप्रिल महिनामा ६१ हजार ५८९ पर्यटक भित्रिएका थिए । यो महिनाको तुलनामा मे महिनामा पर्यटकीय गतिविधिमा सुधार आएपनि पर्यटक भित्रिनेको संख्या भने घटेको हो ।

अफ सिजन रहेका कारण पनि पर्यटकहरुको आवागमनको संख्या घट्न थालेको अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्राई बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो केही महिना यता पर्यटकहरुको आवागमन बढेको थियो । यसमध्ये पनि सन् २०२२ को अप्रिलमा कोरोना काल पछि कै सर्वाधिक पर्यटक भित्रिएका थिए । अहिले अफ सिजन भएका कारण पनि पर्यटकहरुको आवागमनमा कमि आएको हो ।’

मे महिना सहित सन् २०२२ को पाँच महिनामा एक लाख ९३ हजार ९४४ पर्यटक नेपाल भित्रिएको विभागको तथ्याङमा उल्लेख छ । जनवरी महिनामा १६ हजार ९७५ पर्यटक नेपाल भित्रिएका थिए भने दोस्रो महिना अर्थात फेब्रअरी महिनामा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । जनवरीको तुलनामा फेब्रुरुअरीमा तीन हजारभन्दा बढी संख्यामा पर्यटक नेपाल आएका थिए । 

त्यस्तै, सन् २०२२ को मार्च महिनामा ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका थिए । यस महिना सबैभन्दा बढी भारतबाट पर्यटक आएको तथ्यांकमा उल्लेख छ । जहाँबाट १५ हजार १३ जना पर्यटक नेपाल आएका थिए । 

महानिर्देशक भट्टराईका अनुसार अप्रिल महिनामा कोरोना महामारी पछिकै सर्वाधिक पर्यटक नेपाल भित्रिएका छन् । यस महिनामा हवाई मार्ग भएर कूल ६१ हजार ५८९ जना पर्यटक नेपाल भित्रिएका हुन् । अप्रिल महिनामा पर्यटक भित्रिने संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा धेरै हो । सन् २०२१ को अप्रिल महिनामा २२ हजार ४५० पर्यटकले नेपाल भ्रमण गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस