aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

विद्यार्थीका लागि टेलिकमको अफर, ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ बैशाख २०७६
विद्यार्थीका लागि टेलिकमको अफर, ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनस

काठमाडौं, वैशाख १२ । नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीका लागि विभिन्न अफर ल्याएको छ । कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि उपलब्ध गराएको विद्यार्थी अफरलाई निरन्तरता दिइएको हो ।  

विद्यार्थी अफरअन्तर्गत विद्यार्थीलाई ५० रुपैयाँ टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइएको छ भने सो रकममध्ये १० रुपैयाँबाट कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न सकिने सुविधा छ । बाँकी ४० रुपैयाँबाट ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध गराइएको छ । यी सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नुपर्नेछ । 

विद्यार्थी अफरअन्तर्गतको सिम लिएका विद्यार्थीलाई ६ महिनासम्म बोनसको रुपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधासमेत उपलब्ध गराउने व्यवस्था छ । यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुनेछ । 

त्यसैगरी सो अफरअन्तर्गत रजिष्टर गरिएका सिममा ५० रुपैयाँ वा सो भन्दा बढी रकम रिचार्ज गर्दा समेत १ वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराउने व्यवस्था गरिएको नेपाल टेलिकमले जनाएको छ । ५० रुपैयाँ रिचार्ज गर्दा बोनसअन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिद गर्न सकिने छ । रिचार्ज गरिसकेपछि यो सुविधा ३ दिनभित्र उपभोग गरिसक्नुपर्नेछ ।

यस अफर अन्तर्गत उपलब्ध शुरुको १० रुपैयाँबाहेक अन्य रकमबाट नेपाल टेलिकमकै नेटवर्कभित्रका नम्बरमा मात्र भ्वाइस कल गर्न र एसएमएस पठाउन सकिनेछ । यो अफर २०७६ असार २६ गतेसम्म उपलब्ध गराइने कम्पनीले जनाएको छ । अफरअन्तर्गत प्राप्त प्याकेज भने सिम एक्टिभ भएको ६ महिनासम्म उपलब्ध हुनेछ भने रिचार्जमा प्राप्त बोनस एक वर्षसम्म उपलब्ध हुनेछ ।

एसईई, उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीहरुलाई विद्यार्थी अफरको सिम उपलब्ध गराउने व्यवस्था गरिएको छ । एसईई दिएका विद्यार्थीहरुले सो सिम लिनका लागि विद्यालयको आईडी कार्ड वा परीक्षाको एडमिट कार्ड, फोटो र आफ्नो अभिभावकको नागरिकताको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ । 
त्यसैगरी उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीले आफ्नो नागरिकताको प्रमाणपत्र, फोटो र उच्च मावि वा कलेजको परिचयपत्रको प्रतिलिपी उपलब्ध गराउनुपर्नेछ । 
    
 

प्रतिक्रिया दिनुहोस