aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

दार्चुलाको छाङ्गरुमा नेपाल टेलिकमको फोरजी, तिङ्करमा एनटिसेट जडान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ जेठ २०७९
दार्चुलाको छाङ्गरुमा नेपाल टेलिकमको फोरजी, तिङ्करमा एनटिसेट जडान

दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरुको ज्याक्तीमा नेपाल टेलिकमको फोरजी सहितको टेलिफोन टावर जडान सुरु गरिएको छ । चीनको सीमा नजिकको गाउँ तिङ्करमा भिसेट एनटिसेट जडान गरिएको छ । नेपाल टेलिकमले तिङ्कर गाउँमा दुई लाइन एनटिसेट लाइन जडान गरेको हो ।

सञ्चार सम्बन्धबाट टाढा रहेको व्यासको तिङ्कर गाउँमा पहिलो पटक भिसेट एनटिसेट जडान गरिएको व्यास–१ का वडासचिव विनोदसिंह बुढाथोकीले जानकारी दिए । यसअघि छाङ्गरुमा सशस्त्र प्रहरी र स्थानीयवासीका लागि भन्दै एनटिसेट लाइन जडान गरिएको थियो । छाङ्गरुमा स्काई फोन पनि सञ्चालनमा छ । छाङ्गरुमा फोरजीसहितको नमस्तेको लाइन जडानको तयारी छ । 

सामरिक महत्व बोकेको छाङ्गरु र तिङ्करमा पछिल्लो समय टेलिकमका प्रमुख कृष्णबहादुर गुरुङले आफैँ खटिएर टेलिफोन सेवा सञ्चालन गर्नुभएको छ । “स्काई फोन पनि केही दिनदेखि अवरुद्ध रहेको थियो”, सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले भने, “अहिले कार्यालय प्रमुख आएर सञ्चालन गरेका छन् ।  छांगरुको ज्याक्ती डाँडामा फोरजी जडान हुँदैछ, सोलार व्याट्री अपुग भएका कारण केही समय लाग्ने छ ।”

तिङ्कर गाउँमा भने ल्यान्डलाइन सञ्चालन गरिएको छ । अहिले तिङ्कर गाउँका लागि ९९४९३००५० र ९९४९३००५१ नम्बर सञ्चालन गरिएको वडा सचिव बुढाथोकीले जानकारी दिए । यसअघि यहाँका नागरिकले फोन सेवाबाट बञ्चित हुनुपरेको थियो । छाङ्गरुमा फोन लागे पनि तिङ्करमा फोन लाग्दैन थियो । टेलिकमको फोरजी सेवा सञ्चालन भए छाङ्गरु मात्र नभई कालापानी, कुटी गुञ्जी नाभी लगायतका क्षेत्रसम्म नेपाली फोनको पहुँच हुनेछ । ज्याक्ती डाँडाबाट कालापानी, गुञ्जी कुटी गाउँ सहजै देख्न सकिन्छ । सबैभन्दा अग्लो डाँडामा रिपिटर टावर राखिएका कारण भारतीय गाउँतिर कभरेज बढ्ने छ । 

प्रतिक्रिया दिनुहोस