
काठमाडौँ। नेपालमा बनेको एक शैक्षिक गेमिङ्ग एपले अन्तर्राष्ट्रिय प्रयोगकर्ताहरूको समेत मन जितेको छ। यस सम्बन्धमा उल्लेखनीय विषय त यो हो कि यसरी विश्वका ९० भन्दा बढी मुलुकका युवा बिद्यार्थीहरुको रोजाइमा पर्न सफल गेमिङ्ग एप स्वास्थ्य विज्ञानसँग सम्बन्धित छ।
काठमाडौँ विश्वविद्यालय अन्तर्गतको काठमाडौँ मेडिकल कलेजका सहायक प्रोफेसर सञ्जय दीक्षितको अवधारणाका विकाश गरिएको सो एपको नाम हो, मेडीपजल।
स्वास्थ्य विज्ञान विषय समेटेर समेत गेमिङ्ग एप निर्माण गर्नु आवश्यक छ भनेर सोच्ने दीक्षित आफ्नो एपले प्राप्त गर्दै गरेको लोकप्रियताबाट निकै उत्साहित भएका छन्। उनी भन्छन्, 'डिजिटल युगमा खेल अलि फरक बनेकै छन्। तर मैले भने अनलाइन खेल खेल्दै गर्दा समेत विद्यार्थीले पढुन् भन्ने उद्देश्यले यस्तो एपको परिकल्पना र विकास गरेको हुँ। अहिले जुन मात्रामा विश्वव्यापी प्रयोगकर्ता प्राप्त हुँदै छ त्यसले मलाई अझ उत्साहित बनाएको छ।'
त्यसो त एन्ड्रोइड र आइओएस दुवै प्लेटफर्ममा धेरै प्रकारका शैक्षिक गेमहरू भेटिन्छन्। तर, फर्माकोलोजीका सहायक प्रोफेसर दीक्षितले बनाएको मेडीपजल भने नितान्त मेडिकल स्टुडेन्ट लक्षित छ। यो एपको विकास नै खेल्दा रमाइलो हुने र पढेर सिक्ने कुरा खेलेर नै सिक्न मिल्ने खालको भएकाले यो प्रति आकर्षण बढेको छ दीक्षितको दाबी छ।
पाकिस्तान र चीनमा आफ्नो पढाई सकेर दश वर्षदेखि काठमाडौँ मेडिकल कलेजमा फर्माकोलोजी पढाइरहनु भएका सहायक प्रोफेसर दीक्षित अलि पृथक ढङ्गले विद्यार्थीलाई सिकाउन गेम एप बनाएको बताउँछन्।
नेपालमा यो विषयमा आवश्यक अनुसन्धानात्मक नभएको र विद्यार्थीहरूले यो विषय स्नातक तहमा पुगेपछि मात्र पहिलो पटक पढ्न थाल्ने हुनाले बिधार्थीहरुलाई अलि गाह्रो लाग्ने विषयलाई बुझ सहजता थप्ने प्रयास नै यो एपको रहेको उनको भनाई छ। पुरापुर प्राविधिक विषयलाई कसरी रमाइलो गर्दै पढ्न र रोचक बनाउन सकिन्छ भनेर खोजी गर्ने क्रममा मोबाइल गेम बन्न पुगेको हो।
यो प्रोजेक्ट आफूले लिड मात्र गरेको र यसको पछाडि धेरै जना साथी तथा सहकर्मीहरू रहेको दीक्षितले जानकारी दिए। यो योजनालाई उनले आयता इन्कर्पोरेशनसँगको सहकार्यमा अगाडी बढाइरहेका छन्।
एप निर्माण गर्ने समुहका प्राविधिकहरूका अनुसार यो एपको निर्माण छ महिना अगाडि पुसमा नै सुरु भएको हो। तर, केही महिनाको परीक्षण पश्चात् अहिले परिमार्जन गर्दै एपलाई अझ राम्रो बनाउने काम समेत भइरहेको छ।
एउटा विषयमा गेम बनाएर अघि बढेको यो टिम चाडै नै अरू विषय पनि समेट्ने योजनाका साथ अघि बढेको छ। नेपालमा एप बनाएर विश्वभरका विद्यार्थीहरू तान्न सक्ने हो भने यसको आर्थिक पाटो पनि राम्रो देखिन्छ। त्यसैले, स्टार्टअपको रुपमा रहेको यस्तो शैक्षिक गेमिङ्ग एप निर्माणलाई सरकारको पनि सहायता आवश्यक देखिएको छ।
यो एन्ड्रोइड र आइओएस दुवै प्लेटफर्ममा उपलब्ध छ। गुगल प्ले र एप्पलको एप स्टोरका अतिरिक्त यसबारे थप बुझ्न मेडीपजल डटकममा समेत लगइन गर्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस