aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आजबाट राजधानीमा दुई दिने पर्यटन मेला, ७७ जिल्लाका पर्यटकीय पहिचान भृकुटीमण्डपमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ बैशाख २०७६
आजबाट राजधानीमा दुई दिने पर्यटन मेला, ७७ जिल्लाका पर्यटकीय पहिचान भृकुटीमण्डपमा

काठमाडौ । आन्तरिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले आजबाट राजधानीको भृकुटिमण्डमा आन्तरिक पर्यटन मेला (डीटीएम) सुरु हुँदै छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन गर्ने उक्त मेलामा ७७ वटा जिल्लाका पर्यटकीय पहिचान झल्कने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न र नयाँ आन्तरिक पर्यटकीय गन्तव्यको खोजि, भएका गन्तव्यको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले डीटीएम गर्न लागिएको मेला आयोजक संस्थाका अध्यक्ष शिव अधिकारीले बताए । 

उनका अनुसार पर्यटन बजारमा चहलपहल देखाइरहन र पर्यटकीय गन्तव्यको पहिचानसँगै हामी पर्यटनमा सबै सँगै छौं भन्ने उद्देश्यले मेला आयोजना गरिएको हो । मेलालाई नेपाल ईभेन्ट म्यानेजमेन्टले आज र भोली दुई दिन आयोजना गर्दै छ ।

सरकारले बेला बेलामा मनाइरहने पर्यटनको विभिन्न प
कारको मेला र महोत्वको सफलता र असफलताले सिंगो मुलुककै पर्यटनलाई प्रवद्र्धन गरिरहेको हुन्छ । देशको विभिन्न भागमा रहेका र पहिचान हुन नसकेका र लुकेर बसेका गन्तव्य तथा पर्यटकीय अकार्षणलाई मेलाले प्रवद्र्धन गर्ने पनि आयोजक संस्थाको भनाइ छ । मेला आजै साढे ११ बजे भट्टराई र अन्य पर्यटन क्षेत्रका हस्तिहरूले एकसाथ उद्घाटन गर्ने भएका छन् । 

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महत मेलाले सिंगो मलुलुकलाई नै प्रवद्र्धन गर्ने बताउँछन् । । ‘यो निजी क्षेत्रको प्रतिनिधित्व गदै गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको कार्यक्रम हो’ महतले भने । 

मेलाको सफलताले भ्रमण वर्ष २०२० र समग्र पर्यटन क्षेत्रलाई थप उचाई दिन्छ । त्यसैले अब यो वा त्यो नभनी सबैले आआफ्नो ठाँउबाट डीटीएम सफल बनाउनका लागि भूमिका निर्वाह गर्नुपर्ने बुझाई पनि उनको छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले डिटीएम नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनको एउटा महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्दै यसलाई बार्षिक क्यालेन्डरका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

नेपाली पर्यटनमा जागरण ल्याउन पर्यटन मेला आवश्यक रहेको यस क्षेत्रका पर्यटन व्यवसायीको भनाइ छ । नयाँ गन्तव्य र पर्यटकीय गतिविधिहरूको उजागर गर्ने माध्यमको  रूपमा विकास गरिनुपर्नेमा उनिहरूको जोड छ ।  
भृकुटीमण्डमा हुने यस्तो मेलामा ७७ वटै जिल्लाबाट १११ वटा व्यवसायिक तथा फुड स्टल हुने छन्  । आयोजकका अनुसार बुकिङ भएका स्टलमा पर्यटन सेवा प्रदायक टे«किङ, ट्राभल, एयरलाइन्स, काठमाडौं तथा मोफसलका होटल, होमस्टे, रिसोर्ट, पर्यटक यातायात, हस्तकलाका सामाग्री, जिपफ्लायर, प्याराग्लाइडिङ, टुरिजम शैक्षिक कलेज, नयाँ पर्यटकीय गतिविधि, केवलकार, सूचना प्रविधि, ७ वटै प्रदेशको विभिन्न स्वादका परिकारयुक्त फुड स्टलहरुको प्रतिनिधित्व रहेको छ । 

कार्यक्रमको आकर्षणका रूपमा विभिन्न जातजातीको सांस्कृतिक झाँकीसहितको प्रदर्शनी तथा राष्ट्रिय कला संस्कृति झल्काउने नृत्य प्रस्तुत हुने छ । राष्ट्रिय ख्यातिप्राप्त कलाकारमार्फत लोकदोहोरी गीतलगायतको मनोरञ्जनात्मक प्रस्तुतिसमेत रहने छन् । यस मेलाको करिब दुई लाख अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस