
भैरहवा । नेपाल भित्रने पर्यटकहरूको सुरक्षामा कुनै पनि कसुर नराखी सुरक्षाको प्रत्याभूति गराउने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । आज रुपन्देहीको बेलहीयामा पर्यटक सुरक्षा तथा प्रवर्द्धनमा व्यवसायी एवं स्थानीय नागरिकको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले बेलहीया नाकाबाट भित्रने तथा अन्य कुनै पनि देशका नागरिक पर्यटकको रूपमा नेपाल आउँदा सुरक्षित रहने बताएका हुन् ।
नेपाल भ्रमणमा रहेका पर्यटकहरूको सेवा सुरक्षा एवं आवश्यक सूचनाहरू उपलब्ध गराउनु पर्यटकहरूको बसाई सुखद बनाउन उपत्यकामा १० र उपत्यका बाहिर १८ गरी २८ ओटा पर्यटन प्रहरी युनिट खडा गरी काम भइरहेको पर्यटन प्रहरी प्रमुख तर्कराज पाण्डेले बताए ।
पर्यटन व्यवसायीका मर्का बुझेकोले सहजीकरण गरेर अगाडि बढ्ने पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयका सचिव महेश चन्द्र न्यौपानेले बताए । उनले भने “पर्यटन व्यवसायी र होटेल व्यवसायीले सुधार गर्नु पर्ने कुराहरू सुधार गर्दै लगे मन्त्रालय सहजीकरण गर्न तयार छ । पर्यटन विकासमा मन्त्रालय सकारात्मक रहेकोले रित पुग्ने गरी कानुन अनुसार व्यवसाय गर्नेहरूलाई सहयोग मिल्छ ।”
सरकारी निकायले सहजीकरण गर्ने भएकाले व्यवसायीले पर्यटकलाई सहज हुने गरी काम गरेर अगाडि बढ्नु पर्ने रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । पर्यटन क्षेत्र रहेकोले रात्रिकालीन बजार खुला गर्ने विषयमा छलफल भएकोले सहज रूपमा सुरक्षाको व्यवस्था मिलाएर खोल्न सकिने बताउँदै पर्यटक पाहुना हुन् उनीहरूको सेवा गर्नु भन्ने भावना व्यवसायीमा हुनु पर्ने उनको भनाई छ । उनले घुमाउरो पारामा पर्यटन व्यवसायी तथा होटेल व्यवसायीले पर्यटकलाई चर्को शुल्क लिने गरेको बताए ।
पर्यटन प्रहरी इकाई कार्यालय भृकुटीमण्डप काठमाडौंले आयोजना गरेको कार्यक्रममा रुपन्देहीका सुरक्षाकर्मी, पर्यटन व्यवसायी, होटेल व्यवसायीको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस