
काठमाडौं । विदेशी मुद्रा सञ्चितिमा असर परेको भन्दै सरकारले ३०० अमेरिकी डलरमाथिका मोबाइल आयातमा रोक लगाए पनि चोरीको बाटोबाट मोबाइल नेपाल भित्रीने क्रम रोकिएको छैन।
आयात प्रतिबन्धकै बीच सेप्टेम्बर ९ मा सार्वजनिक भएको आईफोन १४ सिरिज गैरकानुनी तवरले नेपाल आइपेगकेको छ । यस्तै महगा अन्य ब्राण्डका फोन गैरकानूनी तरिकाले नेपाल भित्रिने क्रम रोकिएको छैन ।
नेपालमा गैर कानुनी तवरले मोबाइल सेट भित्र्याउने ट्राभल एजेन्सी, कार्गो र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरु रहेको छन् । एक मोबाइल व्यवसायीका अनुसार सुन्धारामा रहेको युओर जोन ट्राभल्स एण्ड टुरले विदेशमा रहेका नेपालीहरूले टिकट काट्दा नै आफ्नो मोबाइल फोन नेपाल लगी दिनेलाई टिकटमै विशेष छुटको व्यवस्था गर्दै मोबाइल फोनको आयात गरिरहेको छ ।
त्यस्तै, कार्गोहरूले विदेशबाट सस्तो मूल्यको मोबाइल फोनहरू भन्दै महँगा आइफोन जस्ता फोनहरू ल्याउने गरेको ती व्यवसायीको जिकिर रहेको छ । दुबई, कतार, सिंगापुर र जापानबाट सबैभन्दा बढी महँगा फोनहरू गैर कानुनी रूपमा नेपाल भित्रिरहेको उनको भनाई छ । गैरकानुनीरुपमा महँगा फोन भित्र्याउने कार्गो कम्पनीहरू डिएचएल, एक्सप्रेस, फेडेक्स एक्सप्रेस, एरामेक्स रहेको ती व्यवसायीको दाबी रहेको छ ।
नेपालमा गत वैशाखदेखि ३०० डलरभन्दा माथिका महँगा फोन आयातमा रोक लागेको छ । नेपाल राष्ट्र बैंकले असोज २९ गतेसम्मका लागि ३०० डलरमाथिका फोन आयातको प्रतिवन्ध लम्ब्याएको छ ।तर, पनि बजारमा गैरकानूनी रुपमा महगो मोबाइल फोन भित्रिने क्रम नरोकिएको एक मोबाइल डिलर बताउँछन् । उनले भने, नेपालमा आधिकारी रुपमा कति मोबाइल भित्रिन्छ त्यो नेपालमा एक्टिभ हुने मोबाइलको संख्या हेर्दा थाहा हुन्छ । नेपालमा आधिकारीक रुपमा भित्रिने मोलाइलभन्दा बढी ग्रे बजारबाट भित्रिन्छन् ।
एप्पलको नेपालका लागि आधिकारीक विक्रेता जेनेरेसन नेक्स्टले आधिकारीक रुपमा ४०० मोबाइल सेट हप्तामा बेच्दा बजारमा भने २ हजार सेट एक्टिभेसन हुने गरेको बताएको छ । यसको अर्थ १६ सय मोबाइल सेट गैरकानुनी तरिकाले नेपालमा भित्रिने गरेको अनुमान गर्न सकिन्छ । यो गैरकानुनी तरिकाले नेपालमा भित्रिने मोबाइल सेट कसले ल्याउछ र कसले कहा बेच्छ त्यो कसैसँग पनि रेकर्ड छैन ।
३०० डलरभन्दा माथिका फोन सामसङ, वनप्लस, नथिङ आदिले उपलब्ध गराउने भएकाले यी फोन नेपाली बजारमा जताततै भेटिन सक्छन् । सामसङ, वनप्लसका नेपालका लागि आधिकारीक डिलरहरुले नेपालमा कति मोबाइल एक्टिभ हुन्छन् भन्ने तथ्यांक बताउँन चाहेनन् । तथ्यांकमा मोबाइल फोन आयात घटेको देखिए पनि बजारमा फोनको अभाव भने छैन । सरकारले आयातमा कडाइ गरेपछि फोन चोरी पैठारीको माध्यमबाट मोबाइल फोनहरू आयात भई बजारमा बिक्री भइरहेका छन् ।
यता दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुर्षोत्तम खनाल भने बजारमा जसल मोबाइल फोन विक्री गरिरहेका छन् उनीहरुले नै मोबाइल फोनको गैरकानुनी धन्दा चलाइरहेको आरोप लगाउँछन् । उनले भने, ‘विदेशबाट होस वा अन्य कुनै प्रकारले मोबाइल ल्याएको होस त्यो मोबाइल बेच्ने भनेको मोबाइल पसलमा नै हो भनेपछि मोबाइल बेच्नेहरुलाई सबै थाहाहुन्छ कि यो मोबाइल कहाबाट ल्याएको हो भनेर ।’
बजारमा महँगा मोबाइल फोनको माग अवैध आयातले धानिरहेको नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई बताउँछन् । ‘मोबाइल आयातकर्ता संघको स्टिकर सहितको आधिकारिक फोनभन्दा पनि चोरी पैठारीबाट नेपाल भित्रिएका मोबाइलको व्यापार मौलाएको छ’, उनी भन्छन्, ‘बजारमा अहिले प्रतिमहिना एक लाखको हाराहारीमा नयाँ मोबाइल भित्रिरहेका छन् । यसमध्ये नेपालमा आधिकारिक विक्रेता रहेका कम्पनीहरूबाट ३० प्रतिशत मात्र मोबाइल बजारमा उपलब्ध गराइएको छ । बाँकी ७० प्रतिशत मोबाइल गैर कानुनी रूपमा भित्रिएका छन् ।’
अहिले नेपाली बजारमा ७० प्रतिशत मोबाइल फोन चोरी पैठारीको माध्यमबाट खुल्लमखुल्ला बिक्री भइरहेका उनले जानकारी दिए । सरकारले तीन सय डलरभन्दा माथिका मोबाइलहरू आयातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा मोबाइल फोन अवैधरुपमा भित्र्याउन गिरोह नै लागि परेको उनको आरोप रहेको छ ।
सरकारले अवैध मोबाइल आयातलाई रोक लगाउनुको सट्टा वैद्य मार्गबाट व्यवसायीले ल्याउने मोबाइल फोनलाई रोकेर ग्रे मार्केटलाई फस्टाउन सहयोग गरिरहेको मोबाइल व्यवसायी महासंघका अध्यक्ष भट्टराई बताउँछन् । सरकारले महँगा फोनको आयातमा कडाइ गरेयता अवैध मोबाइल आयात बढेको उनले बताए । साथै सरकारले आयात प्रतिबन्ध खुकुलो ग¥यो भने अवैध आयात घट्ने र सरकारले राजस्व समेत पाउने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस