
काठमाडौँ । ब्राजिलियन स्ट्राइकर नेयमारलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) लोनमै भए पनि अर्को क्लबमा पठाउने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
नेयमार आफै पनि फ्रान्सेली च्याम्पियनको जर्सीबाट बाहिर आउन चाहन्छन् । बार्सिलोना, रियल मड्रिड र युभेन्टस पनि उनलाई भित्र्याउन तयार छन् । तर उनलाई कुन क्लबले भित्राउने भन्ने कुराको टुङ्गो भने लागेको छैन ।
ट्रान्सफरको केन्द्रमा रहेका नेयमार पीएसजीको प्रि सिजन ट्रेनिङमा पनि सहभागी भएनन् । फ्रान्सेली लिग वानमा सुरु हुँदा पनि पीएसजीबाट खेलेका छैनन् ।
नेयमार दुई वर्षअघि कीर्तिमानी २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पीएसजी गएका थिए । उनलाई भित्र्याउन पूर्व क्लब बार्सिलोनाले पनि हर सम्भव प्रयास गरिरहेको छ भने रियल मड्रिड पनि नेयमारलाई चाहन्छ । इटालियन च्याम्पियन युभेन्टसले पनि चासो देखाएको छ ।
तर पीएसजीले मागेको मूल्य तिर्न कुनै पनि क्लब तयार छैनन् । त्यसैले ट्रान्सफर बन्द हुने दिन नजिकिँदै गर्दा पीएसजीले नेयमारलाई लोनमा पठाउने विकल्पबारे समेत सोच बनाएको गोलले आफ्नो समाचारमा दाबी गरेको छ । तर लोनमा पठाउँदा नेयमारलाई कुन मूल्यमा पठाउने भन्ने उल्लेख गरेको भने छैन ।
प्रतिक्रिया दिनुहोस