एजेन्सी । टाढाको आकाशमा चम्किरहेको चन्द्रको चमक देखेर सबै जनाले तारिफ गरेको त हामी सबैले देखेकै छौं । तर, त्यो चन्द्रमा जमिनमा आयो भने हामीले के गर्छौ भन्ने जवाफ हामी कोहिसँग पनि छैन । संयुक्त अरब इमिरेट्स (युएइ) ले दुबईमा चन्द्रमा जस्तो रिसोर्ट बनाउने तयारी शुरु गरेको छ, जसको नाम दुबई मून राखिएको छ ।
युएई बुर्ज खलिफा र अन्य गगनचुम्बी भवनहरूको लागि यसभन्दा पहिलादेखि नै परिचित छ । अब देशका यी सुन्दर भवनहरूमा अर्को नाम दुबई मुन थपिने भएको छ । आकाशमा चम्किलो चन्द्रमा जस्तै बनाइनेछ र चन्द्रमा जमिनमा आइपुगेको अनुभूति हुने गरिको पूर्वाधार बनाउदै छ । त्यसका लागि ठूलो बजेट विनियोजन गरिएको छ । अरेबियन बिजनेस रिपोर्टका अनुसार यो चन्द्रमा जस्तो रिसोर्ट बनाउन ५ अर्ब डलरभन्दा बढी खर्च लाग्ने छ ।
प्रतिवेदनका अनुसार दुबईमा यो गन्तव्य रिसोर्ट बनाउने तयारी पूरा भएको छ । यो परियोजना मुन वर्ल्ड रिसोर्ट्सले तयार पारेको हो । कम्पनीका सह–संस्थापकहरू सान्ड्रा जी म्याथ्यूज र माइकल आर हेन्डरसन हुन् । यस सम्बन्धमा दिएको आफ्नो विज्ञप्तिमा उनले दुबई मुन पर्यटन प्रवद्र्धनका साथै युएईको अर्थतन्त्रमा प्रभाव पार्नका लागि फाइदा जनक साबित हुने बताएका छन् । यसको तयारीको समयावधिबारे उनले ४८ महिनामा निर्माण सम्पन्न हुने बताए ।
प्रतिवेदनका अनुसार मुन रिसोर्टले हरेक वर्ष २५ लाख पाहुना भित्र्याउने अपेक्षा गरिएको छ । यस दुबई चन्द्रमाको उचाइ ७३५ फिट अर्थात २२४ मिटर हुनेछ । यसबाहेक चन्द्रमा जस्तो देखिने यस रिसोर्टको परिधि ६२२ मिटर हुनेछ । यसमा आधुनिक सुविधासहितको नाइट क्लब र वेलनेस सेन्टर पनि हुनेछ । यसका साथै यहाँ आउने पाहुनाले मुन शटलमा घुम्ने मौका पाउनेछन् । रिसोर्टमा क्यासिनो र रेस्टुरेन्ट पनि हुनेछ ।
युएईको यो दुबई मुनले वार्षिक हजार करोड कमाउने अनुमान गरिएको छ । प्रतिवेदनका अनुसार यो रिसोर्टले एक वर्षमा १.५ अर्ब युरोभन्दा बढी आम्दानी गर्ने अनुमान गरिएको छ । युएईका प्रधानमन्त्री तथा दुबईका शासक शेख मोहम्मदका अनुसार सन् २०२२ को पहिलो छमाहीमा युएईको पर्यटन क्षेत्रको राजस्व ५ अर्ब डलर नाघेको छ ।
प्रतिक्रिया दिनुहोस