
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण बिहीवार बल्ल सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत वर्षको चौथो त्रैमाससम्म रू. १८ करोड ८० लाखभन्दा बढी खुद नाफा गरेको हो । अघिल्लो वर्षको चौथो त्रैमाससम्म रू. ३ करोड ५० लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत वर्षभने नोक्सानी सुधार्दै खुद नाफा गर्न सफल भएको हो ।
गत वर्ष कम्पनीको कुल आम्दानी २१३ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष रू. २७ करोड १४ लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले गत वर्ष रू. ८५ करोडभन्दा बढी कुल आम्दानी गरेको हो । कोभिडको कारण विगतका केहि वर्ष असर परेको होटल व्यवसाय पछिल्लो समय भने सकारात्मक बन्दै गएको देखिन्छ ।
हाल रू. १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष रकम अघिल्लो वर्षभन्दा ८१ दशमलव ४३ प्रतिशत बढेर रू. ४४ करोड १६ लाखभन्दा बढी कायम भएको छ । कम्पनीको कुल सम्पत्ति १६ दशमलव २२ प्रतिशत बढी रू. ३ अर्ब ५५ करोड र कुल दायित्व अघिल्लो वर्षभन्दा ३२ प्रतिशत बढी रू. १ अर्ब २२ करोडभन्दा बढी रहेको छ । गत चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११३ दशमलव ६४ रहेको छ ।
प्रतिक्रिया दिनुहोस