
काठमाडौं । कोरोना बीमा दाबी रकम भुक्तानी गर्न सरकारले दिन लागेको रकममा निजी कम्पनीहरूलाई पनि थप गर्न लगाउने तयारी गरिएको छ । बीमा समितिले कोरोना बीमा गरेका निजी बीमा कम्पनीहरूलाई पनि सरकारले दिने एक अर्ब रुपैयाँमा केही रकम थप गर्न लगाउने तयारी गरेको हो ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमन पौडेलले कोरोना बीमा गर्ने कम्पनीहरूलाई रेसियोको आधारमा रकम थप गर्न लगाउने समितिले तयारी गरिरहेको बताए । उनले आर्थिक न्युजसँग भने, ‘सरकारले कोरोना बीमा दाबी रकम भुक्तानी गर्न एक अर्ब रुपैयाँ निकासा गर्ने भएको छ । अर्थ मन्त्रालयले सम्भवतः आज समितिमा पत्र पठाउँछ होला । यसैका आधारमा हामीले बीमा गर्ने निजी कम्पनीहरूलाई पनि रेसियोका आधारमा पैसा थप गर्न लगाउन लागेका छौँ ।’
उनका अनुसार कोरोना बीमा गरेका निजी कम्पनीहरुले सङ्कलन गरेको प्रिमियमको आधारमा मात्रै भुक्तानी गरेका छन् । प्रिमियम सङ्कलन भएको आधारमा मात्रै भुक्तानी गरेर बीमा कम्पनीहरू पन्छिन नपाइने उनको भनाई छ । पौडेलले भने, ‘कोरोना बीमा गर्ने कम्पनीहरुले प्रिमियम उठाए बापतको मात्रै पैसा तिरेका छन् । उनीहरू यति गरेर मात्रै पन्छिन पाउँदैनन् । केही पैसा कम्पनीहरुले थप गर्छन् अनि सरकारले दिएको पैसा मिलाएर भुक्तानी गर्छौ ।’
कोरोना बीमा बापतको भुक्तानी सरकारले दिने भने पनि लामो समयदेखि पैसा निकासा नहुँदा बिमितहरुले बीमा बापतको रकम भने पाउन सकेका छैनन । लामो समयदेखि बीमा बापतको भुक्तानी कुरेर बसेका बिमितहरुले अब भने बीमा बापतको पैसा पाउने भएका हुन् ।
बीमा समितिको तथ्याङ्क अनुसार कोरोना बीमामा १४ अर्ब ९३ करोड ९६ लाख ६६ हजार रुपैयाँको दाबी परेको छ । हालसम्म कोरोना बीमा पुलमार्फत ३ अर्ब ५० करोड रुपैयाँ र बीमा कम्पनीहरूबाट १ अर्ब २८ करोड ८१ लाख ७१ हजार रुपैयाँ गरी ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी भइसकेको छ । कोरोना बीमा कार्यविधि अनुसार सरकारले अनुदानका रूपमा कोरोना बीमा दाबीको बहन गर्ने भनेको ११ अर्ब ४३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
कार्यकारी निर्देशक पौडेलले कोरोना बीमा बापतको पैसा कसरी भुक्तानी गर्ने भन्नेबारे समितिले कार्यविधि बनाइरहेको जानकारी दिए । पौडेलले भने, ‘सरकारले कोरोना बीमा बापत भुक्तानी हुन बाँकी रहेको पैसामध्ये एक अर्ब मात्रै दिन लागेको छ । त्यसमा निजी कम्पनीहरूलाई केही रकम थप गर्न लगाउँछौँ । कसरी भुक्तानी गर्ने भन्नेबारे समितिले कार्यविधि बनाइरहेको छ ।’
प्रतिक्रिया दिनुहोस