aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

काठमाडौँमा आतिथ्यता सम्मेलन सुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ असोज २०७९
काठमाडौँमा आतिथ्यता सम्मेलन सुरु

काठमाडौं । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन टेवा पु¥याउने उद्देश्यले नेपालमा पहिलोपटक आतिथ्यता सम्मेलन ‘नेपाल हस्पिटालिटी कन्क्लेभ–२०२२’ आयोजना गरिएको छ ।
 
होटल सङ्घ नेपाल (हान) ले आयोजना गरेको सम्मेलनको आज यहाँ आयोजित एक समारोहबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले उद्घाटन गरे । कोभिडपछिको नयाँ परिस्थितिमा ‘हस्पिटालिटी’ क्षेत्रको विकासका लागि आगामी कार्यदिशाबारे छलफल हुने सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, थाइल्याण्ड, मलेसियालगायत मुलुकका आतिथ्यता क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिको सहभागिता रहेको छ । 

नेपालका तर्फबाट राष्ट्रिय योजना आयोग, नेपाल पर्यटन बोर्डलगायत सरोकारवाला निकायका उच्च अधिकारी एवं प्रतिनिधिको सहभागिता रहेको हानले जनाएको छ । सो अवसरमा राज्यमन्त्री श्रेष्ठले नेपालका प्राकृतिक सम्पदा, सांस्कृतिक विविधिता एवं रैथाने खानाका परिकारलाई विश्व बजारमा प्रवद्र्धन गर्दै दीगो पर्यटन विकासका लागि रणनीतिक योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले सम्भाव्य पर्यटनको बजारीकरण र ब्राण्डिङ गरी बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न सेवालाई गुणस्तरीय बनाइनुपर्ने खाँचो औँल्याए । राज्यमन्त्री श्रेष्ठले पछिल्लो समय पर्यटकीय पूर्वाधार विकास भइरहेकाले समयसापेक्ष प्रभावकारी बजार रणनीति बनाइनुपर्ने बताए । उनले नयाँ सोच र सेवा विविधिकरण गरेर पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने भन्दै यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

हाल होटलमा ५० हजार श्यया रहेको र अहिलेको अवस्थामा ५० लाख पर्यटक धान्न सकिने हानले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले पर्यटन क्षेत्रको द्रुत गतिमा पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रले सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिए । उनले हवाई पूर्वाधार, होटल पूर्वाधार आदिको विस्तारले ठूलो सङ्ख्यामा पर्यटक धान्न सकिने अवस्था रहेको भन्दै सेवालाई गुणस्तरीय र समयसापेक्ष बनाउन जरुरी रहेको उल्लेख गरे ।

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले हस्पिटालिटी सम्मेलनको निष्कर्ष यस क्षेत्रका लागि मार्गदर्शक बन्ने विश्वास व्यक्त गरे । उनले सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा महानगर जुटेको भन्दै यसले बढीभन्दा बढी पर्यटकलाई आकर्षण गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटन उद्योगलाई चलायमान बनाउन सबै सरोकारवाला जुट्नुपर्ने बताए ।

हानका अध्यक्ष सिर्जना राणाले सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर पर्यटन प्रवद्र्धनलाई गतिशील बनाइनुपर्नेमा जोड दिए । हानको आजै अर्धवार्षिक साधारणसभासमेत सम्पन्न भएको छ । उक्त अवसरमा हानबाट प्रकाशित गरिएको ‘नेपाल अ जर्नी फ्रम इस्ट टु वेस्ट’ स्मारिकाको विमोचन गरिएको छ ।
 
हानका प्रथम उपाध्यक्ष विनायक शाहले नेपाली रैथाने खानाको विश्वव्यापी प्रवद्र्धनका लागि सम्मेलन उपयोगी हुने बताए । उनले नेपालकै पहिलो आतिथ्यता सम्मेलनमार्फत होटल क्षेत्रमा देखिएका, भोगिएका र भविष्यमा आउन सक्ने समस्याको समाधान खोज्न सहयोग पुग्ने बताए । पर्यटन व्यवसायलाई चलायमान बनाउन नयाँ तरिकाको बजारीकरण गरिनुका साथै केही नयाँ अभ्यास प्रयोग गर्दै नेपाली होटल उद्योगको स्तरीयता कायम राख्न र समग्र पर्यटनको विकासका लागि सम्मेलनले भूमिका खेल्ने हानको विश्वास रहेको छ । 
 
आइतबारसम्म चल्ने सम्मेलनमा सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गर्ने स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा विभिन्न सत्रहरू सञ्चालन हुनेछन् । दक्षिण एशियाका उदियमान हस्पिटालिटी ब्राण्ड, डिजिटल बजारीकरण, होटल सञ्चालन र सेवाको गुणस्तर अभिवृद्धि, नीतिगत सवाल, दिगो ऊर्जा वचत र पर्यावरणमैत्री सेवा सञ्चालन आदिबारे विज्ञले प्रस्तुतीकरण गर्ने आयोजकले जनाएको छ ।
 
छलफलले होटल सञ्चालनमा नीतिगत उपाय सुझाउनुका साथै दीर्घकालीन रुपमा होटल सञ्चालनमाअवलम्वन गर्नुपर्ने विषयमा सुझाव नेपाल सरकारका सम्बन्धित निकायमा प्रस्तुत गरिने जनाइएको छ । सम्मेलनका अवसरमा होटलमा प्रयोग हुने वस्तु, सेवा तथा सामग्री उपलब्ध गराउने कम्पनी तथा व्यवसायीलाई समेटी बृहत् प्रदर्शनी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस