aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

वालेटको चाडपर्व अफरः स्कुटरदेखि हेलिकप्टरमा गोसाईंकुण्ड घुम्न पाउनेसम्म

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ असोज २०७९
वालेटको चाडपर्व अफरः स्कुटरदेखि हेलिकप्टरमा गोसाईंकुण्ड घुम्न पाउनेसम्म

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैंको अवसरमा विभिन्न कम्पनीहरुले आकर्षक अफरहरू सार्वजनिक गरिरहेका छन् । विभिन्न छुटदेखि उपहारसम्मका योजनासहित आकर्षक अफरहरू सार्वजनिक गरेका हुन् । यहाँ हामीले भुक्तानी प्रदायक वालेटहरूले चाडपर्वको अवसरमा कस्ता अफरहरू ल्याएका छन् भन्नेबारे उल्लेख गरेका छौँ । हेरौँ, कसले कस्तो अफर ल्याएका छन्:   

ई सेवा: ‘मेरो यात्राको साथी’

भुक्तानी सेवा प्रदायक इसेवाले आसन्न विभिन्न चाडपर्वलाई लक्षित गर्दै ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ । यस अफर अन्तरगत यात्रुहरूले यात्रा गर्दा विभिन्न सेवामा आकर्षक क्यासब्याक पाइनेछ । 

अफरमा हवाईजहाज टिकेटिङ, बस टिकेटिङ, होटेल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाईजहाज टिकेटिङमा आकर्षक अफरहरू सामेल गरिएका छन् । यसका साथै यो सेवा प्रयोग गर्ने एक भाग्यमानी प्रयोगकर्ताले बम्पर उपहार स्वरुप नयाँ सुजुकी एभेनिस स्कुटर प्राप्त गर्न सक्नेछन् ।  

यस अफर अन्तरगत पहिलो पटक हवाइजहाज टिकट खरिदकर्ताको लागि: थप ३ प्रतिशत अथवा तीन सय रुपैयाँसम्म क्यासब्याक प्राप्त हुनेछ । जसका लागि प्रोमोकोड “नयाँ”  प्रयोग गर्नुपर्नेछ । यस्तै ३ वटा टिकट खरिद गर्दा थप एक सय ५० रुपैयाँ प्राप्त गर्न सकिनेछ ।   

खल्ती: ‘खल्तीफुल अफर’  

नेपालीहरूको महान् चाड विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘खल्तीफुल अफर’ ल्याएको छ । यस अफर अन्तर्गत खल्ती प्रयोगकर्ताले युनियन पेको क्युआर तोकिएको आउटलेटमा खल्ती मार्फत स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम पाँच सय रुपैयाँसम्मको) क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

खल्ती प्रयोगकर्ताले गोल्ड स्टार, बिग डिजिटल, स्केचर्स, बलेनो र साथी मार्टमा १० प्रतिशतसम्म छुट पाउने जनाइएको छ । यो अफर भाद्र ३० देखि कार्तिक १४ सम्म लागु हुनेछ ।

फोनपेः ‘चाडवाडमा जीवन सहज बनाऊँ, नगद छोडौँ फोन पे गरौँ’ 

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोन पे पेमेन्ट सर्भिस लिमिटेडले नयाँ योजना सार्वजनिक गरेका छन् । नेपालीहरूको महान् चाडपर्वलाई लक्षित गर्दै ‘चाडवाडमा जीवन सहज बनाऊँ, नगद छोडौँ फोन पे गरौँ’ योजना सुरु गरेको हो । 

यस योजना अन्तरगत हरेक दिन फोन पे मार्फत क्युआर गर्ने, फोन पे डाइरेक्टर मार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानी गर्ने मध्ये एक जना ग्राहकले दैनिक नगद एक लाख जित्न सकिनेछ । यो योजना ग्राहकहरूका लागि असोज ४ गतेदेखि असोज १४ गतेसम्म लागु हुनेछ । 

क्युआर मार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङ्गको आकर्षक मोबाइल फोन जित्न सक्नेछन् । मर्चेन्टहरुको यो योजना असोज ४ गतेदेखि कार्तिक १२ गते ४० दिन सम्मका लागि लागु हुनेछ । फोन पेको एक लाख जित्ने योजनामा सहभागी हुनका लागि ग्राहकले फोन पे अफर एपमा गई चुनौती अर्थात् च्यालेञ्ज एसेप्ट गर्नुपर्नेछ । यस योजनामा अन्य केही सर्तहरू समेत लागु हुनेछन् । 

यसैगरी फोनपेले दशैँको समयमा किनमेल गर्न सहज र शुलभ होस् भन्ने उद्देश्यले विभिन्न बैंकहरुसँगको सहकार्यमा छुट तथा क्यासब्याक पाइने सुविधा समेत प्रदान गरेको छ । फोन पे मार्फत क्युआर भुक्तानी गर्दा सनराइज बैंकका ग्राहकले असोज १ देखि १५ गतेसम्म फोन पे मार्फत क्युआर गर्दा हरेक दिन भाग्यशाली एक जनाले हेलिकप्टरमा गोसाईंकुण्ड घुम्न पाउनेछन् । 

कुमारी बैंकका ग्राहकले असोज ४ देखि १४ कार्तिकसम्म पहिलोपटक क्युआर मार्फत भुक्तानी गर्दा तिस प्रतिशत अर्थात् रु तीन सय सम्म छुट पाइनेछ । यसैगरि सानिमा बैंकका ग्राहकहरूले असोज १६ गतेदेखि २२ गतेसम्म १० प्रतिशत अर्थात् रु सय सम्म छुट पाउनेछन् । यस्तै गरिमा विकास बैंक र एनसीसी बैंक,एनआइसी एसिया बैंकका ग्राहकहरूले असोज ९ गतेदेखि १४ गतेसम्म क्युआर गर्दा १० प्रतिशत अर्थात् रु १०० सम्म छुट पाइनेछ । 

यसैगरी राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले असोज ७ गतेदेखि १७ गतेसम्म, एभरेष्ट बैंकका ग्राहकले असोज १० देखि १४ गतेसम्म, मेगा बैंकका ग्राहकले असोज ७ देखि १३ गतेसम्म,कामना सेवा विकास बैंकका ग्राहकले असोज ९ गतेदेखि १३ गतेसम्म क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत अथवा रु सय छुट प्राप्त गर्न सकिनेछ । 

आइएमइ पेका ग्राहकले असोज ७ देखि असोज १४ गतेसम्म, प्रभु पेका ग्राहकले असोज ९ देखि १४ असोजसम्म, खल्तीका ग्राहकले असोज ४ गतेदेखि २४ असोजसम्म पहिलोपटक क्युआर गर्दा १० प्रतिशत अर्थात् रु सय सम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ । यस्तै माछापुच्छ्रे बैंकका ग्राहकले असोज ९ गतेदेखि २० गतेसम्म क्युआर गर्दा २२ प्रतिशतसम्म क्यासब्याक पाइने छ ।   

सेल पे: ‘क्यासब्याक अफर’

सेलकम प्रालिको सेलपे सेवाले विजया दशमीको अवसरमा आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ । यस योजना अन्तर्गत हरेक ग्राहकहरूले विभिन्न सेवाहरूमा क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 

हवाई टिकटमा एक हजार दुई सय रुपैयाँसम्मको क्यासब्याक, बस टिकटमा १० प्रतिशतसम्मको क्यासब्याक, सुबिसु इन्टरनेट भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, भायोनेट इन्टरनेट भुक्तानीमा ५ प्रतिशत क्यासब्याक र मोबाइल रिर्चाजमा ६ प्रतिशत  क्यासब्याक ग्राहकहरूले पाउने भएका छन् ।  

यो योजना असोज १ गतेदेखि असोज ३१ गतेसम्म लागु हुनेछ । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरूमा वास्तविक समयमा भुक्तानी, सरल र सुरक्षित, बैंक खाताका साथै वालेटबाटबाट पनि कारोबार गर्न सकिने रहेका छन् ।

आइएमई पे: ‘५५ इन्चको टिभीदेखि इ–स्कुटरसम्म पुरस्कार’

चाडपर्वको अवसरमा आइएमई पे ले पहिलो पटक भव्य स्तरमा आइएमई पे डिजिटल दशैं तिहार २०७९ अफर सार्वजनिक गरेको छ । उक्त अफर आश्विन १ गते देखि कार्तिक १५ गतेसम्म जम्मा ४६ दिनसम्म कायम हुने कम्पनीले जनाएको छ । 

नेपालको सर्वश्रेष्ठ अनलाइन शप्पिङ साईट, दराजसँगको सहकार्यमा सार्वजनिक गरेको यस अफरमा आइएमई पे मार्फत अफर अवधि भरी कुनै पनि भुक्तानी गर्दा दैनिकमा सामसुङको स्मार्टफोन, गोल्डस्टारको जुत्ता तथा डिशहोमको २०० एमबिपिएसको १ वर्षे फाइबरनेटका अतिरिक्त आइ टिभीको प्याकेज प्रदान गरिने छ । 

साथै, दराजको हजारौँ भाउचर कोड देखि लिएर १ जना भाग्यशाली विजेतालाई चन्द्रागिरि केबलकारको लाइफटाईम एक्सेस र दुई जना भाग्यशाली विजेतालाई बम्परमा राफ्ट मोटर्सको वारिअर इ–स्कुटर पनि उपहार स्वरुप प्रदान गरिने कम्पनीले जनाएको छ ।

आइएमई पे मोबाइल वालेटमार्फत विभिन्न कार्य तथा सेवाहरूको लागि सहजै अनलाइन भुक्तान गर्न सकिने छ  । यसै डिजिटल भुक्तानी सुविधालाई ग्राहकहरू माझ अझ बढवा दिन यस महा–अफर मार्फत आइएमई पेबाट विभिन्न भुक्तानी गरे बापत पनि उपहारहरू प्रदान गरिनेछ ।

अफर अवधि भरी आइएमई पेबाट क्युआर भुक्तानी गर्ने ५ जना भाग्यशाली विजेताले सामसुङ स्मार्टवाच ४ (प्रति), मोबाइल रिचार्ज गर्ने १ जना भाग्यशाली विजेताले एप्पल म्याक्बुक एयर १३.६ एमटु, हवाई टिकट काट्ने २ जना भाग्यशाली विजेताले १ तोला २४ क्यारेट सुन (प्रति), आइएमई पेमा बैंकको खाता लिङ्क गर्ने २ जना भाग्यशाली विजेताले सामसुङ ग्यालेक्सी ट्याब एस सेवेन प्लस (प्रति) र आइएमई पेको भिसा कार्डबाट भुक्तानी गर्ने २ जना भाग्यशाली विजेताले सामसुङ स्मार्ट टिभी (५५ इन्च, प्रति) पाउनेछन् ।

चाडपर्व कै अवसर पारी आइएमई पे मार्फत क्रिस्टल डाइग्नोस्टिक, सिनामंगलमा भुक्तानी गर्दा प्रयोगकर्ताहरूले १५ प्रतिशत छुट र हिमाल डेन्टलमा १५ प्रतिशत छुट पनि प्राप्त गर्न सक्नेछन् । साथै आइएमई पेको प्रयोगकर्ताहरूले आइएमई पे एपमा कुनै पनि कारोबार गरेको आर्थिक विवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपिडी चेक–अप पनि पाउनेछन् ।

दैनिक उपहारको विजेताहरूको घोषणा हरेक हप्तामा एक पटक सामाजिक सञ्जाल मार्फत हुनेछ भने अरू सबै उपहारहरूको विजेताको घोषणा अफर अवधि पश्चात सामाजिक सञ्जालमा तथा कम्पनीको लागि सम्भावित कुनै पनि माध्यम मार्फत हुनेछ ।

विजेताहरूले अफर अवधिको अन्त्यमा मात्रै उपहारहरू प्राप्त गर्नेछन् । उपहारको लागि योग्य हुन प्रयोगकर्ताहरूले मुख्यतः आइएमई पे एपमा आफ्नो केवाइसि प्रमाणित गर्नु पर्ने नियम कम्पनीले स्पष्टाएको छ । यसका साथै आइएमई पे एपमा क्यास –इन र क्यास–आउट बाहेक अरू सम्पूर्ण भुक्तानीमा उपहार जित्न मिल्ने नियम राखिएको छ  । 

नमस्ते पे: ‘फेस्टिभ क्याम्पेन’

नमस्ते पेले चाडपर्व लक्षित नयाँ योजना ल्याएको छ । नमस्ते पेले दशैं, तिहार तथा छठ पर्व लाई समेट्ने गरी फेस्टिभ क्याम्पेन ल्याएको हो । यस अभियानमा ४९ दिनसम्म नमस्ते पे प्रयोगकर्ताहरू विभिन्न सेवाहरू विभिन्न अफर पाउनेछन् ।

यस अभियानमा बम्पर अफरको रूपमा सात भाग्यशाली विजेताहरूले एक सय प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् । प्रयोगकर्ताहरूले जति धेरै कारोबार गर्नेछन् त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र एक सय प्रतिशत क्यासब्याक पाउने मौका हुनेछ ।

अभियान अवधिको बिचमा कुनै पनि सेवाहरू (वालेट टु वालेट ट्रान्फर र लोड फण्ड बाहेक) को कारोबार गर्ने प्रयोगकर्ताहरू बम्पर योजनामा सहभागी हुन योग्य हुनेछन् । नमस्ते पे मार्फत युटिलिटी बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पे ले तिरिदिने अफर रहेको छ ।

त्यस्तै, हवाई टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले एक हजार रुपैयाँ क्यासब्याक पाउनेछन् । अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड हवाई टिकट निःशुल्क पाउनेछन् । दशैं दक्षिणाको रूपमा आफ्नो परिवार र आफन्तहरूलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताहरूले १०० प्रतिशत क्यासब्याक पाउनेछन् ।   

 

प्रतिक्रिया दिनुहोस