
काठमाडौं । दशैं नजिँदै गर्दा घुम्ने योजना बनाउनेहरुको संख्या ठूलो हुन्छ । दशैं र तिहार जस्ता विदाको सदुपयोग गर्नका लागि भ्रमणको प्याकेज बनाउनेहरुको संख्यापनि बढ्दो छ । त्यसैले यो दशैं र तिहारको विदाको अवसरमा हामीले केही यस्ता गन्तव्यबारे जानकारी दिँदैछौं ।
हलेसी महादेव
हलेसी महादेव नेपालको एक प्रसिद्ध हिन्दू एवं बौद्ध तीर्थस्थल हो । यो स्थान सगरमाथा अञ्चल खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलदेखि करिब ९ कोस पश्चिम अवस्थित हलेसी तुवाचुङ नगरपालिकाको केन्द्र दुर्छिम छापडाँडाबाट पूर्व नगरपालिकाको वडा नं ७ महादेवस्थान हलेसी गाउँमा पर्छ । हलेसी समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको छ ।
‘हलेसीगुफा’को प्राकृतिक भू–बनोटको संरचना समेत विश्वमै अनौठो मानिन्छ । हलेसी महादेवलाई हिन्दू धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी अथवा मरातिक गुफा र किराँत धर्मावलम्बीलेले आदिमभूमि ठान्छन् । मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टान (शिला)ले झकिझकाउ हलेसी धाममा विशेषत महादेव (शिव), बसाह र भैरवका तीनवटा महत्वपूर्ण गुफा छन् ।
इलाम
पूर्वी पहाडी इलाम जिल्लाको चियाबारीका कारण चर्चित छ । पाखाभरिको चियाबारी, खोल्साका अलैंची र दोबाटोभरि दूधबोकेका घोडा हेरेर इलाम आउने पर्यटक लोभिन्छन् । इलामको आकाश क्षणभर मै कुहिरोले ढाकिन्छ, केहिबेरमै खुला हुन्छ । चिसो सिरेटो र परिवर्तन भइरहने मौसमले आगन्तुकसँग लुकामारी खेलेझैँ आभास गराउछ ।
इलाममा पनि कन्याम चिया बगानका कारण चर्चित छ, श्री अन्तु र सन्दकपुरमा पर्यटकहरु झुल्के घाम हेर्न आउँछन् ।इलाम पूर्वमा दार्जिलिङ, पश्चिममा मोरङ र पाँचथर र उत्तरमा पाँचथर र दक्षिणमा झापासँग सिमाना जोडिएको छ ।
खप्तड
सुदुरपश्चिमको खप्तड जान काठमाडौंबाट सात रात आठ दिनको समय छुट्याउनुपर्छ । काठमाडौंबाट १५ घण्टाको बसयात्रा गरेपछि धनगढी पुगिन्छ । धनगढीदेखि डोटी सदरमुकाम सिलगढीसम्म पनि बसमै आठ घण्टाको यात्रा हुन्छ । सिलगढीबाट बखलेकसम्म जिप रिजर्भ गरेर कच्ची बाटोमा यात्रा गर्न सकिन्छ ।
पैदल यात्रा गर्दा भने सिलगढीबाटै सुरु गर्नुपर्छ । हवाईजहाजबाट जाँदा भने धनगढी ओर्लेर सोहीदिन सिलगढी पुगेर बास बस्न सकिन्छ । सिलगढीदेखि बखलेखसम्म जीप जाने कच्ची बाटो छ । त्यसका लागि रिजर्भ गर्नुपर्छ । सिलगढीदेखि सुरु पैदलयात्राको पहिलो दिन बिहानको खाना बगलेखमा खाएर झिगरानमा बेलुकाको बास हुन्छ ।
दोस्रो दिनको यात्रामै खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गर्न सकिन्छ । निकुन्ज क्षेत्रमा पसेपछि यात्राको सबैभन्दा अप्ठ्यारो ठाडो उकालो सुरु हुन्छ । विहानको खानाबीच पानीमै खाएर जानु राम्रो हुन्छ । त्यहाँबाट अघि बढेपछि खानाखाने ठाउँ पाइन्न । बीचपानीबाट चार घन्टा लाग्छ, निकुञ्जको मुख्यालय पुग्न सकिन्छ ।
ठूल–ठूला चट्टान र घना जंगल र बाटोमा फूलेका रंगीचंगीफूलको बासनाले थकान मेटिन्छ । दिनभरको यात्रापछि साँझ त्रिवेणी मन्दिर पुगिन्छ । त्रिवेणी मन्दिरबाट सुरु हुन्छ खप्तड क्षेत्रको सुन्दर दृश्य देख्न सकिन्छ ।
खप्तडको त्रिवेणी मन्दिर, हरिया फाँट, थारु संस्कृति, डडेलधुराको उग्रताराम मन्दिर, डोटीको शैलेश्वरी र भागेश्वरी–सालमुनिको यस क्षेत्रका आकर्षण हुन् । खप्तड यात्राको लागि काठमाडौंदेखि १० दिनको समय उपयुक्त हुन्छ ।
लुम्बिनी
कपिलवस्तु जिल्लाको तिलौराकोट भन्ने ठाउँमा लुम्बिनी पर्दछ । यो एक ऐतिहासिक धार्मिक पर्यटकिय स्थल हो । फराकिलो भू–भागमा फैलिएको लुम्बिनी अवलोकन गर्न हरेक वर्ष लाखौं मानिसहरु आउँछन । फराकिलो भू–भागमा विभिन्न देविदेवताका मन्दिरहरु छन् । विभिन्न डिजाइन अनी फरक शैलिमा निर्माण गरेका त्यी घुम्बा, मन्दिरहरु राम्रा छन । सबैभन्दा राम्रो अनी मुख्य आकर्षणको बिन्दु भनेको मायादेवी मन्दिर हो ।
त्यहाँ उत्खनन गरेर राखिएका बस्तुहरु पनि छन् । त्यो वरपरको वातावरण आनन्दित तुल्याउछ । गुम्बाहरु,मन्दिरहरु चारैतिर बुद्धका मुर्तिहरु छन । विभिन्न घटनाक्रम सम्झाउने बुद्धको जीवनिसँग संबन्धित तस्बिर र मुर्तिहरु पनि छन् । फुलहरु रोपेको, हरियो दुबोहरु राम्रो छ । लुम्बिनी सम्भावना बोकेको ठाउँँ हो । पर्यटकिय र धार्मिक दुबै हिसाबमा लुम्बिनी राम्रो छ । यसको विकास र प्रवर्द्धन अति आवश्यक छ । यो एकपटक घुम्नै जानुपर्ने ठाउँँ हो ।
पोखरा
पोखरा एकपटक पुगेर मन न अघाउने गन्तव्य मध्ये एक हो । मर्दी हिमाल, अन्नपूर्ण बेसक्याम्प, जोमसोम र मुक्तिनाथ लगायतका गन्तव्यमा ट्रेकिङका लागि ट्रान्जिट प्वाइन्टका रुपमा विकास भएपनि अहिले पोखरामा पर्यटकका लागि टिकाइ राख्ने अनेकन सुविधाहरु थपिएका छन् । पोखरामा फेवा, रुपा र बेगनास तालका लागि मात्रै होइन प्राकृतिक सौन्दर्य र एड्भेञ्चर पर्यटनका लागि पनि उपयुक्त गन्तव्य बन्दै गएकोछ ।
फेवातालको माथि पट्टीशान्ति स्तुपादेखि पुम्दीकोटमा बिराजमान महादेवको मूर्ती पनि पछिल्लो समय आकर्षणको गन्तव्य बनेको छ । साथै साराङकोटमा प्याराग्लाइडिङदेखि सुपरम्यान जीपलाइनर बञ्जीको मजा लिन सकिन्छ । पोखराबाट नजिकैको रुपाकोट रिसोटबाट देखिने प्रकृतिको सुन्दरता तथा पोखरामा सुविधासम्पन्न रिसोर्ट तथा होटल मात्रै पनि गन्तव्य बन्न सक्छन् ।
अन्नपूर्ण बेस क्याम्प
मर्दी हिमालको तुलनामा एक वा २ दिन बढी लाग्न सक्छ । तर यो गन्तव्य निकै रमाइलोमध्येको एक हो । सामान्यतयाःप्याकेज टुरमा ११ दिनसम्मको हुने टुरमा तपाईं आफ्नै समूह बनाएर हिँड्नु भयो भने सहजहुन सक्छ । ट्रेकिङ र हिमाल मन पराउनेका लागि जीवनमा एकपटक पुग्दा फाइदा हुने ठाउँका रुपमायसलाई लिन सकिन्छ ।
रारा ताल
पछिल्लो समय पर्यटकको मन लोभ्याइरहेको छ, राराले । सुमन्द्री सतहबाट २९ सय ९० मिटरको उचाईमा रहेको रारा ताल जान अहिले सहजता समेत भइसकेको छ । रारा तालको लम्वाई ३ दशमलव २ किलोमिटर र गहिराई १ सय ६७ मिटर छ । यो तालकुल १० दशमलव ८ किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
यस तालमा विश्वका अन्यत्र नपाइने ‘स्नो टाउट’ प्रजातिका माछा पाइन्छन् । घामको किरणसँगै राराले आफ्नो रंग बदल्ने गर्छ । प्रकृतिको उपहारका रुपमा सृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा, जस्ता जन्तुहरुको साथै डाँफे र अन्य चरा चुरुङ्गीहरुको समेत देख्न पाइन्छ ।
रारा पुग्नका लागि हवाई तथा स्लथमार्ग दुबैको प्रयोग गर्न सकिन्छ । स्थलमार्ग हुँदै निजी सवारी साधनमा जाने हो भने ताल नजिकैसम्म पुग्न सकिन्छ । सार्वजनिक सवारी साधनमा जाने हो भने काठमाडौंबाट ३२ घण्टामा जुम्ला सदरमुकाम खलंगा पुग्न सकिन्छ । खलंगाबाट सिन्जा उपत्यकाहुँदै मुगु सदरमुकाम गमगढी जाने बस पाइन्छ भने त्यहाँबाट रारा पुग्न ५ घण्टा हिड्पर्नेछ । यसका साथै साना बसहरु रिजर्भ गरेर पुग्न सकिन्छ ।
मुस्ताङ
आन्तरिक र बाह्य पर्यटकलाई लोभ्याउने स्थानमध्ये पर्छ, मुस्ताङ । आन्तरिक पर्यटकहरु मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न पुग्नेगर्छन् । हिमालपारीका जिल्लाको नामबाट चिनिने यो जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको विचमा अवस्थित छ ।
मुस्ताङमा अर्को रमणीय स्थल पनि रहेको छ त्यो हो मार्फा । जहाँ वरिपरी पहाडले घेरिएको छ भने बिचमा रहेको मार्फा गाउँ निकै सुन्दर रहेको छ । यहाँ पर्यटकका लागि चाहिने सुविधासम्पन्न होटल तथा रेष्टुरेन्ट पनि छन् अझ मार्फा स्याउ उत्पादनको क्षेत्रमा प्रख्यात छ । मुस्ताङकै अर्को रमणीय स्थानहो, कागबेनी । जहाँ नेपाली फिल्म तथा गितहरुका लागि सुटिङ गर्ने क्षेत्र पनि हुन् यी । हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको पवित्रतीर्थस्थल पनि हो, कागबेनी ।
नेपाल आउने बाह्य पर्यटकको पहिलो रोजाईमा पर्ने अन्नपूर्ण पदमार्ग समेत कागबेनी मै पर्छ । कागवेनीमा ७ सय वर्ष पुरानो काग छोंदें थुप्तेन साम्फेल लिड गुम्बा अवस्थित छ । प्राकृतिक सुन्दरताका हिसाबले पनि यो क्षेत्र निकै अगाडी रहेको छ । मनाङ जिल्लामा अवस्थित मुक्तिनाथ मन्दिर हिन्दू र बौद्धमार्गीहरुका लागि एक महत्वपूर्ण तीर्थस्थलका रुपमा लिइन्छ । मुस्ताङकायी रमणीय स्थानमा पुग्नका लागि बस रिजर्भ गरेर जानुपर्छ । त्यससँगै मुस्ताङ पुग्नका लागि पोखराबाट जोमसोमसम्म हवाइमार्ग पनि जान सकिन्छ । त्यसपछि पैदलमार्ग हुँदै जान सकिन्छ ।
पाथिभरा
नेपालको सुदुर पूर्व ताप्लेजुङ जिल्लामा अवस्थित ‘श्री पाथीभरा देवी’ एक ऐतिहासिक पर्यटक स्थल हो । पूर्व पश्चिम राजमार्गको धरान–धनकुटा तथा इलाम–फिदिम हुँदै नागवेली झै घुमेको बाटो पार गर्दैै प्रवेश गरिने जिल्ला ताप्लेजुङ पुग्न सकिन्छ । काठमाडौं विराटनगरबाट सिधा हवाई सेवा समेत रहेको छ ।
विश्वास, आस्था एवं पवित्रताकी देवी पाथिभराको पवित्र धाम ताप्लजेङ्ग जिल्लाको सदरमुकाम फुङलिङ्गबाट लगभग १६–१७ किमि पुर्वोत्तर ३७६४ मीको उचाइमा अवस्थित छ । भरेको पाथी झै सुन्दर मनमोहक आकृति वोकेको पाथिभरा पहाडको शिखरमा देवी भगवतीको धाम रहेकाले यी देवीको नाम ‘पाथिभरा देवी’ रहन गएको धार्मिक भनाइ रहेको छ ।
परापूर्वकालमा पाथिभरा आसपासका गोठालाहरुले आफ्नो भेडीगोठ एक पटक पाथिभरामा राखेका थिए । एक दिन अचनाक वथान भेडाहरु अलप भए । त्यस्तो अकल्पनीय घटनाले स्तव्ध भएका गोठालाहरुलाई रातमा देवीले दर्शन दिनु भइ आफ्नो उत्पत्ति स्थल र आकृतिको वोध गराउँदै भेडावली सहित पूजा अर्चना गर्न निर्देशन दिनु भयो । आत्मावोध प्राप्त गोठालाहरुले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभाव पूर्वक पूजा अर्चना गरी सवैभन्दा स्वस्थ हृष्टपुष्ट भेडाको थुम्वा वली दिए । वली के दिइएको थियो– ती हराएका सयौ भेडाहरु जस्ताको त्यस्तै पहिलाकै ठाउँमा देखापरे । त्यो भन्दा अझ आश्चर्यको कुरा वली दिएको भेडाको रगत वली स्थलमा झर्ना साथ वालुवामा पानी हराएझै हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्चर्य मान्दै गोठालाहरुले देवीको जयजयकार गरे ।
आज पाथीभरा देवीको महिमा देवी प्रतिको आस्था एवं विश्वासले गाउँ, जिल्ला र देशको सीमा नाग्दै विदेशमा समेत पुगेको छ । जसको परिणाम स्वरुप हजारौको संख्यामा श्रद्धालु भक्तजनहरु देश तथा विदेशबाट देवी दर्शनको निम्ति आउने क्रम जारी नै छ । नेपालमा पाइने गुराँसाका ४५ प्रजाति मध्ये २३/२४ गुराँसका प्रजातिहरु फूलहरु यस क्षेत्रमा पाइन्छन् । दक्षिणबाट उत्तरतर्फ केही ओरालिएर गएको चउरी फाँटको ठीक पूर्वपट्टि अत्यन्तै कहाली लाग्दो भिरको शीरानमा पाथीभरा देवीको मन्दिर अवस्थित छ । पाथीभराको मन्दिर परिसरबाट विश्वको तेस्रो अग्लो हिमाल कन्चनजञ्घा देख्न पाइन्छ ।
प्रतिक्रिया दिनुहोस