aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

यी हुन् पोखरा पुगेपछि घुम्न छुटाउनै नहुने ठाउँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ असोज २०७९
यी हुन् पोखरा पुगेपछि घुम्न छुटाउनै नहुने ठाउँ

काठमाडौं । दशैं लगायतका लामो छुट्टी हुने चाडहरुमा धेरैले घुमघाम गरी बिताउने गर्छन् ।  यदि तपाईंले पनि यो वर्षको दशैलाई परिवार सहित घुमेर मनाउने योजना बनाउनु भएको छ भने पोखरा सहि गन्तब्य हुनसक्छ । हिन्दुहरुको माहान चाड बडा दशैं नेपालीको घर आगनमा आइसकेको छ । चाड पर्वको आगमनसंगै चारै तिर हर्ष उल्लास र खुसीको माहोल छाएको छ । यस अवधिमा सरकारी, प्राइभेट कार्यलय, स्कुल तथा कलेजहरुमा लामै छुट्टी हुन्छ । दशैंमा घुम्न जाने विभिन्न ठाउँमध्ये प्राकृतिक छटाले भरिपूर्ण पोखरा पनि नेपालको प्रमुख पर्यटकीय गन्तव्य स्थलमध्ये एक हो  ।

अन्नपूर्ण हिमशृंखलाको काखमा अवस्थित फेवाताल र पोखरा उपत्यका धेरै पर्यटकको रोजाइमा पर्छ । प्रकृतिको सुन्दर उपहार हो, पोखरा । यो एउटा सानो उपत्यकामा मन बहलाउने धेरै चिज छन् । हिमाल, ताल, गुफा, मन्दिर, गुम्बा, नदी र झरना आदिको दृश्यवलोकन गर्न सकिन्छ यहाँ । प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जिजम्प र जिप फ्लायर जस्ता मानव निर्मित साहसिक खेल पोखराको अर्को आकर्षण हो । प्राकृतिक तथा सांस्कृतिक सम्पदाको धनी पोखरामा के तपाई पनि रमाउन चाहनु हुन्छ ? तपाईंको मनमा पनि पोखरा घुम्न जाने इच्छा छ ? छ भने तपाईले पोखरामा घुम्ने ठाउँका बारेमा यी कुरा छुटाउन हुँदैन ।

फेवाताल, बेगनास ताल
पोखराको अर्को आकर्षण भनेको ताल पनि हो । तीमध्ये फेवाताल धेरैको आकर्षण रहेको छ । यस तालमा माछापुच्छ्रे हिमालको छाँया खेलिरहेको देख्न सकिन्छ । जहाँ डुंगामा सयर गर्दै सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न पाइन्छ । त्यसमाथि तालको बीचमा रहेको तालबराही मन्दिर पनि पर्यटकका लार्गि गन्तव्य बन्दै आएको छ । डुङ्गामा बसेर फेवाको फन्को नलगाएसम्म पोखरा आएको सार्थकता हुँदैन ।

डुङ्गा चढेर तालबराही मन्दिर जानु जति गाह्रो छ, त्योभन्दा बढी त्यसले दिने आनन्द हो । फेवातालको साइडमा रहेको लेकसाइड बजारले सौन्दर्यतामा झनै ठूलो आकर्षण थपेको छ । पोखरा पुग्ने अधिकांश पर्यटक लेकसाइडको होटलमा नै बस्ने गर्दछन । विशेष गरी रातको समयमा लेकसाइडले पश्चिमा मुलुकको झझल्को दिने सिंगारिएका झिलिमिली बत्ति र सांस्कृतिक कार्यक्रमले पर्यटकलाई मदहोसी बनाउने गर्छ । पोखरामा फेवाताल मात्रै नभएर अर्को सुन्दर ताल बेगनास र रुपाताल पनि पोखराको प्रमुख गन्तव्यमा पर्छन् । बेगनास तालमा पनि डुंगा चढेर रमाइलो गर्न पाइन्छ ।

सूर्योदय
पोखराको सराङकोट सूर्योदयका लागि प्रख्यात ठाउँ हो । लेकसाइडबाट करिब आधा घण्टाको यात्रापछि सराङकोट डाँडामा पुग्न सकिन्छ जहाँबाट सूर्य उदायको मनमोहक दृश्य देखिन्छ । सूर्योदय हँुदै गर्दाको सूर्यको लाली किरण हिमालमा झलमल्ल टल्केको देख्न सकिन्छ । त्यसै गरी पोखराका सूर्योदयका लागि शान्ति स्तुप, काहुडाँडा पनि प्रख्यात छन् ।

सेती नदी
पोखराको मध्यभागबट बगेको सेती नदी केआई सिंह पुलदेखि कालीखोला दोभानसम्म, नारायणथानदेखि तुलसीघाटसम्म र रामघाटदेखि ढुङेसाँघुम्म धर्तीमुनि लुकेर सेती नदी बग्दै गएकी छिन् । सेती नदी उत्तरपश्चिम हिमालयबाट भारततर्फ बग्ने नदी हो । यो सप्तगण्डकी नदीको प्रमुख सहायक नदीहरू मध्ये एक हो । यो नेपालको प्रमुख शहरको पोखराको बीचबाट बग्ने गर्दछ । यो नदी अन्नपूर्ण हिमालबाट शुरु भइ चितवन र तनहुँ जिल्लाको संगमस्थल गाईघाटमा गएर नारायणीमा मिसिन्छ ।

गुफा
गुफा (गुप्तेश्वर गुफा, महेन्द्र गुफा र चमेरो गुफा) फेवातालको बाँधबाट डेभिड फल्सको गल्छी हुँदै एक किलोमिटरभन्दा लामो रहेको गुप्तेश्वर गुफाबाट सेती नदीतर्फ जान्छ । गुप्तेश्वर महादेवको दर्शन गर्न र गुफामा करिब १ सय ४० मिटर पसेपछि भित्रैबाट डेभिड फल्स देखिन्छ ।
पोखराको महेन्द्र गुफा र चमेरो गुफासमेत चर्चित गुफा रहेका छन् । बाटुले चौरमा रहेको महेन्द्र गुफाबाट ७ सय मिटरको दूरीमा १ सय ५० मिटर लामो चमेरो गुफा रहेको छ ।

डेभिड फल्स (पातले छाँगो)

छोरेपाटनस्थित पातले छाँगो पर्यटकको रोजाइमा पर्दछ । २०१८ साउन १५ गते फेवा बाँधबाट आएको भेलले श्रीमति डेभिडलाई बगायो । छाँगोभित्र खसेर उनको मृत्यु भयो । त्यही सयमदेखि छाँगोलाई डेभिड फल्स भन्न थालियको हो । त्यसको पानी भूमिगत भई एक किलोमिटर दक्षिण फुस्रे खोलामा गएको छ । यो छाँगो हेर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।

प्याराग्लाइडिङ, अल्ट्रालाइट, जिपलाइन र बन्जीजम्प
पोखरामा पछिल्लो समयमा पयर्टकको आकर्षण साहासिक खेलमा प्याराग्लाइडिङ पनि एक हो । सराङकोटको अग्लो डाँडाबाट आकाशमा चराझैँ उड्ने रहर कसलाई पो हुदैन र रु प्याराग्लाइडिङमा उड्दै पोखरा शहर, हिमाल र आसपासको क्षेत्र हेर्नुको मज्जा बेग्लै हुन्छ । सराङकोटबाट उड्ने प्याराग्लाइडिङ फेवातालको किनारामा अवतरण हुन्छ । सिजनमा दैनिक १५ सयभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक पोखरामा प्याराग्लाइडिङका लागि पुग्ने गरेका छन् । पोखराको हेम्जामा टावरसहितको बञ्जी समेत रहेको छ । पोखराको बसाइमा अर्को छुटाउनै नहुर्ने जीप फ्लाई पनि एक हो । जीप फ्लाई गर्दा हेम्जाको सुन्दर गाउँ, आसपासको हरियो वन जंगल र हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।

विन्दवासिनी मन्दिर
नेपालका नाम चलेको मन्दिरहरुमध्ये विन्दवासिनी मन्दिर पनि एक हो । दशैंको अवसरमा पोखराको विन्दवासिनी मन्दिरमा भक्तजनको ठूलो भीड लाग्ने गर्छ । अग्लो स्थानमा रहेको मन्दिरबाट पोखराको शहर सुन्दर देखिन्छ ।

विश्व शान्ति स्तुप
पोखरा गएको बेलामा जान छुटाउन नहुने ठाउँमध्ये विश्व शान्ति स्तुप पनि एक हो । ३४४ फिट उचाइ रहेको विश्व शान्ति स्तुपको विभिन्न दिशामा बुद्धका विभिन्न ध्यान मुद्राका मूर्तिहरु कुदिएका छन् । फेवातालमाथिको डाँडामा अवस्थित विश्व शान्ति स्तुप आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षणको केन्द्र मानिन्छ । यहाँबाट पोखराको उपत्यकाको सुन्दर दृश्य, फेवाताल, हिमाल, सराङकोटको डाँडालगायतका सुन्दर दृश्यहरु देखिने हुँदा पनि यहाँ जान पर्यटक सारै लालायित हुने गर्दछन् ।

संग्रालय
पोखरामा पाँच वटा संग्रहालय छन् । जसमध्ये गोर्खा मेमोरियल म्युजिम एक हो । विश्व युद्धलगायत संसारका अन्य युद्धमा नेपालीको बहादुरी सम्झाउने यस संग्रहालय केआइसिंह पुल छेउमै रहेको छ । जहाँ गोर्खाली सैनिकको इतिहासलाई नजिकैबाट निहाल्न सकिन्छ । त्यस्तै पर्यटकको रोजाइमा पर्ने अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पनि हो । यहाँ पर्वतीय पर्यटनसँग जोडिएका कला, संस्कृति, भेषभुषा र वस्तुह प्रदर्शनीमा राखिएको छ ।
 

प्रतिक्रिया दिनुहोस