
काठमाडौं । नेपाल वायुसेवा निगमले जापानको ओसाका विमानस्थलमा तोकिएकै समयमा उडान गर्नका निम्ति निगमले सबै तयारी गरेको भन्दै जापान उडानबारे कुनै भ्रममा नपर्न आग्रह गरेको छ ।
मंगलबार पत्रकार सम्मेलन गरी निगमका कार्यकारी अध्यक्ष मदन खरेलले तोकिएकै समयमा जापानको ओसाका उडान हुने दाबी गरेका छन् । उनले शुरुको एक महिना यात्रुको संख्यामा केही कम भए पनि अक्टोबरदेखि भने यात्रुको संख्या बढ्ने बताए ।
निगमको वाईडबडी ए ३३०–२०० जहाजमार्फत भदौ १२ गते काठमाडौं–जापान पहिलो उडान भर्नेछ । काठमाडौंबाट बिहान २ बजेर ३० मिनेटमा उडेको विमान स्थानीय समयअनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओसाका पुग्नेछ र ओसाकाबाट स्थानीय समयअनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन बेलुका ६ बजे काठमाडौं आइपुग्नेछ ।
निगमले अहिले १ महिनाका लागि एकतर्फी भाडादर ३६ हजार ९ सय ९९ रहेको । दुईतर्फी भाडादर भने ७२ हजार ८ सय १४ रुपैयाँ तोकेको छ । निगमले हप्तामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्ने निर्णय लिएको छ । निगमले एक वर्षभित्र आफूसँग भएका जहाजलाई पूर्ण क्षमतामा सञ्चालन गरेर भ्रमण वर्ष २०२० मा ४५ हजार पर्यटक ल्याउने लक्ष्य राखेको छ ।
प्रतिक्रिया दिनुहोस