
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली आकाश सुरक्षित रहेको बताएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को ४१ औं त्रैवार्षिक महासभालाई सम्वोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका हुन् ।
क्यानडाको मड्रियल शहरमा जारी महासभामा बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताए ।
आईकाओको प्रतिवेदनमा हवाई सुरक्षा मापदण्ड परिपालनमा नेपालको अंक विश्वव्यापी मापदण्डभन्दा बढी रहेको बताए ।
नेपालको भू–धरातललाई दृष्टिगत गर्दा हवाई यातायातको विकल्प नभएको भन्दै उनले हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन नेपाल सरकार प्रतिवद्ध रहेको बताए।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइसकेको तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको बताउँदै उनले हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नति तथा नयाँ विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए।
प्रतिक्रिया दिनुहोस