aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपालगञ्ज विमानस्थलमा अझै भएन एक्स–रे मेसिन सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ असोज २०७९
नेपालगञ्ज विमानस्थलमा अझै भएन एक्स–रे मेसिन सञ्चालन

खजुरा । नेपालगञ्ज विमानस्थलबाट अहिले दैनिक ५० देखि ६०  उडान हुँदै आएको छ । मौसम सफा भएमा हप्तामा करिब २० भन्दा बढी कार्गो उडान हुने गरेका छन् तर यति व्यस्त रहने विमानस्थलको एक्स–रे मेसिन भने अझै सञ्चालनमा आएको छैन । 

सामान चेकजाँच गर्न एक्स–रे मेसिन स्थापना तथा जडान गर्न छुट्टै सेड बनाएर राख्नुपर्ने भए पनि त्यसको अहिलेसम्म व्यवस्थापन हुन नसकेको विमानस्थलका प्रमुख सुरेश खनालले बताए । उनले मेसिन खरिद गरेर आइसकेको छ, प्रयोगमा ल्याउन नसक्नुमा विभिन्न प्राविधिक कारणहरू रहेको भने।

उनले भने, “मेसिन आए पनि प्राविधिक इन्जिनियर आइसकेका छन्, अब मेसिनका लागि आवश्यक सेड बनाउनुपर्ने छ । उक्त सेड निर्माण गरेपछि मेसिन जडान गरेर सुचारु गर्छौं ।” उनका अनुसार अझै तिहारभन्दा अघि मेसिन सञ्चालनमा आउने सम्भावना छैन । 

मेसिन आएको तीन महिना बितिसक्दा पनि प्रयोगमा नआएपछि प्रहरीलाई सुरक्षा जाँचमा समस्या भएको छ । यात्रुहरूका सानातिना सामान चेकजाँच गर्न अहिले विमानस्थलको टर्मिनलमा मात्रै एकवटा एक्स–रे मेसिन छ । कार्गो पठाउने ठाउँमा भने प्रहरीले हातले छामेर र आँखाको भरमा सामान चेकजाँच गरिरहेको छ । विमानस्थलमा खटिएका प्रहरीका अनुसार आफूहरुले सकेसम्म कडाइपूर्वक सामान जाँच गर्दै आए पनि मेसिन अत्यावश्यक रहेको छ ।

कर्णाली र सुदूरपश्चिमका पाँच जिल्लामा उडान हुने नेपालगञ्ज विमानस्थलबाट सामानको ढुवानी अत्यधिक हुने गरेको छ । सागपातदेखि मासुसम्म, चिनीदेखि चामलसम्म फलामका छडदेखि सिमेन्ट र पाइपसम्म हवाईजहाजले बोकेर लैजान्छन् । तर यति महत्वपूर्ण विमानस्थलमा कार्गोलाई जाँच गर्ने मेसिनको सट्टा सुरक्षाकर्मीले हातले छामेर र आँखाले हेरेर सामान पठाउने गरिएको छ । ल्याइएको मेसिन अहिले खुला आकासमा राखिएको जनाइएको छ  । 

प्रतिक्रिया दिनुहोस