भैरहवा । आफ्नै आन्तरिक कारणले उडान गर्न नसकेपछि जजिराले गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमा बदमासी गर्न शुरु गरेको छ । केही समय दैनिक हुँदै आएको जजिराले बिमानस्थल कार्यालयलाई अपरेशनल रिजन देखाउँदै उडान घटाएको थियो । तर जजिराका नेपाल प्रमुख अमित नागराथले यात्रु नपाएको हल्ला फैलाउँदै उडान घटाएको बताएका थिए ।
जजिराले अहिले यात्रुहरुलाई पनि दुःख दिन सुरु गरेको छ । सोमबार गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमा जजिरा मार्फत दुबई उडान गर्नका लागि बिहानै ३ बजे आएका यात्रुहरु उडाननै रद्द भएपछि बिमानस्थलमा १ बजे सम्म अलपत्र परेर बसेका थिए । जजिराले केही समय देखि गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमा यसरी नै यात्रुहरुलाई दुःख दिदै आएको छ ।
जजिरा एयरवेजले असोजको २६, २७, २८, ३० र ३१ गते हुनुपर्ने उडान रोकेपछि सो हवाईजहाज हुँदै वैदेशिक रोजगारीमा जाने यात्रुसहित अन्य यात्रुसमेत प्रभावित भएका थिए । यात्रुहरु गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमै रातभरी बसेर विमान कुरे पनि जजिराले उडान गरेन । जजिराले उडान गर्ने गरेका बिमानहरु लिजमा लिएको र अहिले उक्त लिजमा लिएका बिमानहरु फिर्ता गर्नुपर्ने र नयाँ खरिद गर्नुपर्ने भएको कारण उडान घटाएको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
दाहालले अक्टुबर महिनामा जजिराले नियमति उडान गर्न नसक्ने बताउँदै अक्टोबर पछि उडान नियमित हुने आश्वासन पाएको बताए । दाहालले जजिराले सोही कुरा उल्लेख गर्दै बिमानस्थललाई पत्रचार समेत गरेको जानकारी दिए ।
जजिरा एयरवेजले सेप्टेम्बर १६ तारिख (भदौ ३१) गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सातामा सातै उडान गर्दै आएको थियो । जजिराको एयरबस ३२० निओले बिमानस्थलमा उडान भर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस