
एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्कले अफिसमा रात बिताइरहेका छन् । मस्कले सोमबार आफ्नो एउटा ट्वीटमा आफू सान फ्रान्सिस्कोस्थित ट्विटरको मुख्यालयमा सुतिरहेको बताएका छन् । नयाँ मालिकको डरले ट्विटरका कर्मचारीहरू अफिसमै सुत्न बाध्य भएको खबर आएपछि उनको यो ट्विट सार्वजनिक भएको हो ।
बिजनेश इनसाइडरको रिपोर्टका अनुसार ट्विटरको जिम्मेवारी सम्हाल्दादेखि नै इलोन मस्कले यसलाई नयाँ रुप दिनका लागि एकपछि अर्को गर्दै परिवर्तनको चर्चा गरिरहेका छन् । उनका कतिपय निर्णयको आलोचना पनि भएको छ । मस्कको अपरेशन क्लिनबाट बच्न कम्पनीका कर्मचारीहरू राती अफिसमा सुत्ने गरेको खबर आएको थियो ।
तर, अहिले ट्विटरका हाकिमले पनि आफूले अफिसमै रात बिताउने गरेको स्वीकार गरेका छन् । यसको कारण स्पष्ट गर्दै उनले आफ्नो ट्विटमा लेखेका छन्, 'कम्पनीमा सबै कुरा ठीक नभएसम्म म ट्विटरको मुख्यालयमा सुतिरहेको छु।'
प्रतिक्रिया दिनुहोस