
काठमाडौं । आजदेखि भन्सार घोषणा नभएका मोबाइलहरु नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याएकोले भन्सार घोषणा नभएका तथा प्राधिकरणको अभिलेखमा सूचिकृत नभएका मोबाइल आजदेखि नचल्ने भएका हुन् ।
मोबाइल सेटको गैरकानुनी आयात, बिक्री तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले एमडीएमएस लागू गरेको छ ।
विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका तर एमडीएमएस प्रणालीमा दर्ता नभएका वा गएको भदौ महिनाभन्दा अघि प्रयोगमा नरहेका मोबाइल सेटहरूको १५ डिजिट नम्बरसहितको भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिएर प्रणालीमा अद्यावधिक गरी चलाउन सक्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकारणका उपनिर्देशक समेत रहेका सूचना अधिकारी सुर्यप्रसाद लामिछानेले विदेशबाट आएका नेपालीले आफ्नो स्वदेश प्रस्थानको लागि दूतावासले दिएको बहर्गिमनको प्रमाण र मोबाइल किनेको बिल समावेस गरेर प्रधाकिरणको वेभसाइटमा भएको फारम भरेर मोबाइल चलाउन सक्ने बताए । यदि त्यसो नगरिए विदेशबाट आएका कुनै पनि मोबाइल नचल्ने उनको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस