
भैरहवा । नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट–(नाट्टा) लुम्बिनी प्रदेशले राष्ट्रिय टोपी दिवसको अवसर पारेर भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय जहाजको नियमित उडानको माग गर्दै दबाब कार्यक्रम गरेको छ ।
नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तको अगुवाईमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा त्यहाँ कार्यरत कर्मचारीहरूलाई नेपाली ढाका टोपी लगाउँदै शीरको शान ढाका टोपीको इज्जत राखेर सबैको विश्वासलाई कायम राख्दै उडान नियमितता गर्न सबैलाई सहकार्यको लागि आह्वान गरिएको थियो । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कटौति गर्न नहुने बताउँदै कटौति गरेमा सबै लुम्बिनी बासीले आन्दोलन गर्ने चेतावनी समेत दिइन् ।
पर्यटन व्यवसायी तथा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विष्णु प्रसाद शर्माले४० अर्ब भन्दा बढी रकम विमानस्थलमा लगानी भइसकेकोे र विमानस्थल देखेर सय अर्ब भन्दा बढी निजी क्षेत्रको लगानी भैरहवा आसपासमा भएकोले सरकारले तथा नागरिक उड्डयन प्राधिकरणले कुनै पनि बहानामा उडानमा कटौति गर्नु गलत भएको बताए ।
भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ महिनाको अवधीमा ३१ हजार ६ सय १८ यात्रुहरुले सेवा लिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोबिन्द प्रसाद दाहालले जानकारी दिए । गत जेठ २ गते देखि पुष ३ गते सम्म ७ महिनाको अवधीमा १ सय ५४ वटा उडान र अवतरण भएका छन् ।
यतिबेला जजिरा एअर लायन्सले उडान कटौति गरेको छ । हिमालय एअर लायन्सले पनि उडान रोकेको छ । अर्कोतिर भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिविलिटी कम हुँदा आन्तरीक उडान समेत प्रभावित हँुदै आएको छ । जसको कारण बिहान ६ बजे विमानस्थल पुगेका यात्रुहरू दिँउसो ३ बजे सम्म यात्रु प्रतिक्षालयमा बस्न बाध्य भएका छन् ।
यद्यपी त्यो समस्यालाई निराकर गर्ने गरी अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रमेट ल्याण्डिङ सिस्टम (आइएलएस) जोडिएको भएता पनि उक्त उपकरण सञ्चालन नहुदाँ समस्या सिर्जना भएको छ ।
पर्यटन व्यवसायीहरुले आइएलएस तत्काल सञ्चालन गर्न माग गरेका छन् । उडानकोलागि कम्तिमा १ हजार ५ सयको हाराहारीमा भिजीविलिटी आवश्यक पर्छ तर यतिबेला ४।५ सयको हाराहारीमा भिजीबिलीटि पुग्दा बेला बेला उडान प्रभावित हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस