
काठमाडौं । उच्च अदालत पाटनले नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई छाड्न आदेश दिएको छ । लामिछानेले आफूलाई अन्यायपूर्ण तरिकाले पुर्पक्षका लागि थुनामा राखेको भन्दै दायर गरेको पुनरावेदनको रिट उपर सुनुवाई गर्दै बिहीबार उच्च अदालतले उनलाई २० लाख धरौटी दिएर छोड्न आदेश दिएको हो ।
न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले २० लाख रुपैयाँ धरौटी लिएर सन्दीपलाई छाड्न आदेश दिएको छ । उनीमाथि भदौ ५ गते एक किशोरीमाथि बलात्कार गरेको आरोप लागेको थियो ।
सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरीले अनुसन्धान सकेपछि कात्तिक १४ गते अदालतमा मुद्दा दर्ता भएको थियो ।
कात्तिक १८ गते जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
त्यसविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिँदै आफूलाई थुनामुक्त गरेर मुद्दाको अन्तिम किनारा लगाउन माग गरेका थिए ।
अदालतले उनलाई सर्तहरुसहित छोड्न आदेश दिएको छ । उनलाई छोड्नका लाग आज आदेश भएको भएपनि उनी भोली मात्र छुट्ने भएका छन् । धरौटीमा रिहा भएपनि लामिछानेले अनुमतिबिना विदेश जान नपाउने भएका छन् ।
प्रतिक्रिया दिनुहोस