
काठमाडौं । अनेकौँ विवाद र आलोचना बिच हालै सम्पन्न भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा मा संलग्न भएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई पक्राउ गरेको छ ।
प्रहरी स्रोतका अनुसार उनीहरू सहित जम्मा १० जनाको समूहको फिक्सिङमा संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ। गएको पुस ९ गते देखि सुरु भएको प्रतियोगितामा बेटिङ र फिक्सिङको चर्चा अत्यधिक भएको थियो। त्यस लगत्तै गृहमन्त्री रवि लामिछानेले नेपाल टी–२० लिगमा भएको भनिएको बेटिङ, सम्भावित फिक्सिङबारे अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएका थिए । उनले श्रम स्वीकृति विना विदेशी खेलाडी खेलाएकोबारे पनि प्रश्न उठाएका थिए।
पक्राउ परेका आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्व अलराउण्डर हुन् । उनको नाममा एक खेलमा १० विकेट लिएको कीर्तिमानी समेत छ । त्यस्तै अन्सारी भने उदयमान खेलाडी हुन् जसले गएको जेठमा मात्रै राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।
स्रोतका अनुसार नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालिया सो अपराधका मुख्य योजनाकार रहेको बुझिएको छ। तर, स्पट फिक्सिङको चर्चा सुरु हुने बित्तिकै उनले नेपाल छाडिसकेका छन्।
राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ‘स्पष्ट फिक्सिङ’ बारे सूचना दिएका थिए भने प्रतियोगिताका कमेन्टेटर सचिन तिम्सिनाले पनि फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस