aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

होटल चलाएरै मासिक डेढलाखसम्मको आम्दानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ माघ २०७९
होटल चलाएरै मासिक डेढलाखसम्मको आम्दानी

बनेपा । होटल सञ्चालन गरेर नमुनफेदीका वुद्धबहादुर लोप्चन (सुमन) ले मनग्य आम्दानी गर्दै आएका छन् । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ च्याम्राङबैंशीका सुमनले ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका–५ चन्दनपुरको सिमाना नमुनफेदीमा खाना र खाजा होटल चलाएर आम्दानी गर्दै आएका हुन् ।

सो ठाउँमा कच्ची मोटरबाटो खोलेपछि लामो दूरीका यात्रुको आराम गर्ने र खाना खाने केन्द्रको रुपमा नमुनफेदी बनेपछि विगत पाँच वर्षदेखि उनले सो व्यवसाय सञ्चालन गर्दै आएका हुन् । व्यवसायबाट अहिले मासिक एकदेखि डेढलाखसम्मको आम्दानी भइरहेको उनले बताए ।

परिवार बाहेक उनले थप एक स्थानीयलाई रोजगारी दिएका छन् । होटलमा काम गर्दै आएका दीपक हुँमागाईले होटल सञ्चालन भएर राम्रो चल्न थालेपछि आफूले काम गर्दै आएको बताए ।

दैनिक सय बढी ग्राहक आउने गरेका बताउने उनले सिजनमा दुई सय भन्दा बढी हुने बताउँछन् । बनेपाबाट ठूलादुर्लुङ तालढुङ्गा जाने यात्रुबस र त्यस आसपासमा चल्ने दैनिक चार वटा यात्रुबाहक बस त्यस क्षेत्रमा चल्ने भएको कारण टाढाका यात्रा गर्नेहरु त्यही क्षेत्रमा खाना र खाजा खाने गर्छन् ।

पाँच वर्ष मलेसिया बसेर फर्किएका हुँमागाईंले गाउँमा नै फर्केपछि दुई वर्षदेखि काम गर्न थालेको बताए । “नजिकै भएकोले घरको काम भ्याएर यहाँ काम गर्छु”, उनले भने, “घर आँगनमा नै काम गर्न पाएर मासिक चालीस हजार कमाउन पाउँदा खुुसी छु ।” मोटरबाटो चलेपछि रोजगारीको लागि बनेपा र काठमाडौं धाउनुपर्ने बाध्यता हटेर गाउँमा नै रोजगारी सिर्जना भएको उनको भनाइ छ । 

नियमित रुपमा यातायातका साधन सञ्चालन भएपछि बस्तीसमेत विस्तार हुन थालेको स्थानीय बासिन्दा बताउँछन् । पछिल्लो समयमा हिउँदमा सो ठाउँ भएर तालढुङ्गा, हेटौँडा, मकवानपुरको राईगाउँ, फापरबारी, ललितपुरको गिम्दी, काठमाडौँ लगायतका ठाउँबाट यहाँका खोलामा पौडी खेल्ने तथा माछा मार्न विभिन्न ठाउँबाट मानिस यहाँ आउने गर्छन् । 

“दिनभर माछा मार्ने, पौडी खेल्ने गरी आफैले ओढ्ने ओछ्याउने ल्याएर यहाँ आउनेको भीड नै हुन्छ”, होटल सञ्चालक लोप्चनले भने,“यस ठाउँमा कच्ची नै भए पनि मोटरबाटो सञ्चालनमा आएपछि होटल व्यवसाय राम्रो चलेको छ ।” सो ठाउँमा खाना र बास बस्नको समेत व्यवस्था रहेकाले टाढाबाट दुर्लुङ खोलामा रमाइलो गर्न आउनेको लर्को लाग्ने गरेको उनले बताए । सो ठाउँमा मोटरबाटो जोडिदिएपछि सबै ठाउँको केन्द्र पर्ने भएकाले आफूले होटल व्यवसाय सुरु गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस