
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ । सीआईबीले यस्तो अपराधमा संलग्न रहेको अभियोगमा पर्साको वीरगञ्ज घर भएका नितेश गुप्तालाई पनि पक्राउ गरेको हो ।
उनलाई केही दिन अघि वीरगन्जबाट पक्राउ गरी काठमाडौं ल्याइसकेको सीआईबी श्रोतले जानकारी दिएको छ ।
‘स्पट फिक्सिङमा संलग्न ४ नेपाली मध्ये ३ जना पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं। एक जना भने अझै फरार छन्। ६ जना भारतीय संलग्न देखिएका छन्’, श्रोतको भनाइ रहेको छ ।
ब्युरोले यसअघि पूर्वखेलाडी मेहबुब आलम र हालका खेलाडी आदिल अन्सारीलाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस