
काठमाडौं । आइसीसी विश्वकप लिग–२ मा नेपालले नामिबिया विरुद्ध सहज जित हासिल गरेको छ । नेपालले नामिबियाले दिएको २७५ रनको लक्ष्यमा ३ विकेट र १५ बल बाँकी छँदै जित हात पारेको हो ।
नेपाललाई सहज जित दिलाउन आसिफ सेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्ल तथा बलिङतर्फ सन्दीप लामिछानेलेले भूमिका खेलेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य ४७।३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्दै नेपालले जित हात पारेको हो ।
नेपालको जितमा आसिफ र ज्ञानेन्द्रले कीर्तिमानी १३९ रनको साझेदारी गरे ।
ओपनर कुशल भुर्तेल ५ बलमा १ रन बनाएर आउट हुँदा आसिफले ९८ बलमा ८ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ८१ रन जोडे ।
ज्ञानेन्द्र मल्ले ७४ बलमा ५ चौका र तीन छक्का प्रहार गर्दै ६५ रन जोडे ।
कुशल मल्ले चौथो विकेटका लागि कप्तान रोहित पौडेलसँग ९२ रनको साझेदारी गर्दै ४९ बलमा ६ चौका र ४ छक्कासहित ६२ रन जोडेर क्याच आउट भए ।
रोहित ४२ बल ५ चौकाको मद्दतमा ३९ रन बनाएर पभेलियन फर्किए ।
नामिबियाको बलिङमा रुबेन ट्रम्पलम्यानले सर्वाधिक तीन विकेट लिए । बर्नाद स्कोल्जले दुई विकेट लिँदा, ताङगेनी लुङ्गामेनी र पिकी या फ्रान्सले समान एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस