
काठमाडौं । पर्यटन विभागले इजाजत लिएर मात्रै साहसिक व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । यसअघि दिएको निर्देशन कार्यान्वयन नगरिएकोले विभागले सोमबार त्यस्ता व्यवासय गर्नेलाई पुनः ध्यानाकर्षण गराएको हो ।
वातावरण संरक्षण नियमावली अनुसार २ करोड रुपैयाँदेखि ५ करोड रुपैयाँसम्म लगानी हुने साहसिक एवम् पर्यटन पूर्वाधारका आयोजना निर्माण तथा सञ्चालन गर्दा संक्षिप्त वातावरणीय अध्ययन गरी इजाजत लिएर मात्रै व्यवसाय सञ्चालन गर्नुपर्ने प्रावधान छ । जसमा बञ्जी जम्पिङ, स्वीङ्ग, क्यानोनिङ, स्काई ड्राइभिङ, जिप फ्लाइङ, हाई रोप्स, प्याराग्लाइडिङ, अल्ट्रालाइट, एम्युजमेन्टपार्क र फन पार्क पर्छन् ।
यस्ता व्यवसाय सम्बन्धीत कार्यालयबाट नियम अनुसार दर्ता नगरी, इजाजत नलिई, नविकरण नगराई सञ्चालन गरेको पाइएको विभागले जनाएको छ । यसरी प्रक्रिया पुरा नगरी व्यवसाय सञ्चालन गरेमा दण्ड, सजाय र जरिवाना हुने विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस