
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्धाको सुनुवाइ आजका लागि सर्वोच्च अदालतमा तोकिएको छ । एक नाबालिग किशोरीमाथि जबरजस्ती करणीको अभियोग लागेका लामिछानेलाई फेरि थुनामा पठाउने कि धरौटीमा छोड्ने भन्ने बारेमा सर्वोच्चले आज टुंगो लगाउने सम्भावना रहेको बताइएको छ ।
युएईमा हुने खेलमा आफू पनि सहभागी हुन पाउँ भनी लामिछानेले बिहीबार सर्वोच्चमा हालेको रिटको सुनुवाइ शुक्रबार भएको थियो । सर्वोच्च्का न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले लामिछाने विदेश भ्रमणमा जान नपाउने आदेश दिएको थियो ।
आजको सुनुवाइ लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न गरेको आदेश ठिक थियो कि थिएन भन्नेमा केन्द्रित हुनेछ । सर्वोच्च अदालतले उच्च अदालतको आदेश सदर गरेमा मात्रै ‘आफूलाई विदेश जान अनुमती दिनुपर्ने’ भनी लामिछानेले पेश गरेको निवेदनमा प्रवेश गरी बहस हुनेछ ।
सर्वोच्च अदालतले जिल्ला अदालतको आदेश सदर गरेमा लामिछाने थुनामा बस्नुपर्नेछ भने साधारण तारिखमा छाड्ने आदेश गरेमा उनले विदेश जान अनुमती माग्नुपर्ने छैन ।
प्रतिक्रिया दिनुहोस