aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षका लागि ५ जनाको आकांक्षा, सर्वसम्मतको प्रयास जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ फागुन २०७९
होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षका लागि ५ जनाको आकांक्षा, सर्वसम्मतको प्रयास जारी

काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ, बागमती प्रदेशको नयाँ नेतृत्व चयन हुने भएको छ । बुधबार प्रदेशको दामन, चित्लाङमा बस्ने संघको दोस्रो साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भएको हो । संघको भावि नेतृत्व सर्वसम्मतिमा नै चयन गर्ने तयारी रहेपनि हालसम्म दुई जनाले अध्यक्षमा आकांक्षा देखाएका छन् ।

संघको वर्तमान कार्यसमिति महासचिव दामोदर नेपाल र सचिव श्यामकुमार (भालु) श्रेष्ठले अध्यक्षमा लड्ने घोषणा गरेका छन् । यद्यपि, वर्तमान् कार्यसमितिकै वरिष्ठ उपाध्यक्ष दिपेश सुवेदी, द्वय उपाध्यक्ष निर्पु सर्राफ र देवराज नेपालले समेत अध्यक्षमा चासो देखाएका छन् । अन्य पदाधिकारी र सदस्यहरुमा भने अहिलेसम्म कसैको पनि उमेदवारी दाबी घोषणा भएको छैन ।

प्रारम्भिक रुपमा अध्यक्षमा पाँच जनाले आकांक्षा देखाएपनि संघको नेतृत्व सर्वसम्मतिबाटै खोजिने अध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए । ‘संघको वर्तमान कार्यसमिति वरिष्ठ उपाध्यक्ष, पहिलो र दोस्रो उपाध्यक्षसँगै महासचिव र सचिवले समेत अध्यक्षमा आकांक्षा देखाएका छन् । तर निर्वाचन हुँदैन, हामी अधिकतम गृहकार्य गरेर सर्वसम्मतिमा नै नेतृत्व चयन गर्छौ’ उप्रेतीले भने ।

उसो त वर्तमान कार्यसमिति सर्वसम्मतिमा नै चयन भएकाले भावि नेतृत्व पनि सर्वसम्मतमा नै चयन गर्नेगरी सहमति जुटाइने उप्रेतीले बताए । ३ वर्षे कार्यावधि हुने संघको नेतृत्वमा २३ जना सदस्य रहने छ । २० जना प्रत्यक्ष चयन भएर बाँकी ३ जना सदस्य भने निर्वाचित कार्यसमितिले मनोनित गर्ने संघको विधानमा व्यवस्था छ । 

संघको वर्तमान अध्यक्ष उप्रेती आफ्नो ३ वर्षे कार्यकाल सकेर विदा हुँदैछन् । उसो त उप्रेती यसअघि नै होटल तथा पर्यटन व्यवसायी महासंघको पर्यटन तर्फको उपाध्यक्षमा चयन भइसकेका छन् ।

कोभिड–१९ का कारण झण्डै साढे ३ वर्ष संघको नेतृत्व हाकेका उप्रेतीले आफ्नो कार्यकालमा संघमा आवद्ध व्यवसायीहरुलाई व्यवसायिक सहजिकरणका लागि राज्यसँग सहुलियतपूर्ण कर्जाको प्रबन्ध गर्नेदेखि व्यवसायिक भाडा छुट तथा राहतको व्यवस्था गराएका थिए ।

प्रतिक्रिया दिनुहोस