aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ठमेलमा बढ्यो पर्यटकको चहल पहल, व्यवसायीमा थपियो उत्साह

  • रासस
    रासस
  • शनिबार, २० फागुन २०७९
ठमेलमा बढ्यो पर्यटकको चहल पहल, व्यवसायीमा थपियो उत्साह

काठमाडौं । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकको चहलपहल र आगमन बढ्न थालेको छ । कोरोना महामारीबाट थला परेको ठमेललगायत देशभरका पर्यटकीय गन्तव्यमा विस्तारै पर्यटकीय चहलपहल बढ्न थालेको हो । 

अहिले काठमाडौँको ठमेल क्षेत्रमा विस्तारै विदेशी पर्यटक देखिन थालेका छन् । ठमेल क्षेत्रका सडकमा व्यवसायी देखिन थालेसँगै लामो समयदेखि तनावमा रहेका पर्यटन व्यवसायीमा आशा जाग्न थालेको छ ।

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बाँस्तोला पर्यटन आवागमनसँगै नेपालको पर्यटन उद्योगमा केही आशा पलाएको बताउछन् । “लामो समय कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रमा पर्यटक आएसँगै खुसी छाएको छ”, उनी भन्छन् । विश्व सम्पदा सूचीमा रहेका नेपालका पर्यटकीय क्षेत्रलाई व्यवस्थित गरेर जतिसक्दो पर्यटक भित्र्याएर राज्यले फाइदा लिनुपर्ने उनको भनाइ छ ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मा अहिले ठमेलमा विदेशी पर्यटक बढ्न थालेको बताउछन् । “ठमेलका भित्री गल्लीमा विस्तारै विदेशी पर्यटक देख्न थालिएको छ”, उनी भन्छन् । ठमेलमा ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत व्यापार आन्तरिक पर्यटकबाट हुने गरेको छ । ठमेल क्षेत्रमा एक हजारभन्दा बढी होटल रहेका छन् ।

ठमेलको चारतारे होटल रमदा इन्कोरका सञ्चालक गोपाल पङ्गेनी पर्यटन मौसम सुरु भएसँगै आफ्नो होटलमा बुकिङ गर्ने पर्यटकको स¬ङ्ख्या बढेको बताउछन् । अङ्ग्रेजी पात्रोअनुसार मार्च, अप्रिल र मे महिनालाई नेपालमा पर्यटकीय मौसमका रूपमा लिने गरिन्छ । काठमाडौँ महानगरपालिका–१६ ठमेलमा ९२ कोठासहित सञ्चालनमा रहेको रमदा होटलमा मार्चमा ७० प्रतिशत, अप्रिल र मेमा ९० प्रतिशत कोठा बुकिङ भएका छन् ।

सोही होटलका महाप्रबन्धक महेश फुँयाल ठमेलमा पर्यटकीय गतिविधि विस्तारै बढ्दै गएको बताउछन् । “एक महिना पहिलेभन्दा अहिले होटलमा आउने स्वदेशी तथा विदेशी पाहुना बढेका छन्”, उनी भन्छन् । अब विस्तारै नेपालको पर्यटन क्षेत्रले गति लिने उनको अपेक्षा छ ।

ठमेलमा रात्रिकालीन मनोरञ्जन गर्ने पाहुना खचाखच हुन थालेका छन् । शुक्रबार र शनिबार भने ठमेलमा थप चहलपहल हुँदै आएको छ । व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवापुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुनः व्यावसायिक बाटोमा फर्किन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस