aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ फागुन २०७९
सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला सम्मानित

काठमाडौं । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोहीलाई सम्मान गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सगरमाथा आरोही संघ र नेपाल पर्वतारोहण संघले संयुक्त रुपमा सगरमाथालगायत हिमाल आरोहण गर्ने ३५ महिला आरोहीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा सन् २०१८ मा सबैभन्दा छिटो सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान कायम गर्ने फुङ्जु लामासहित सगरमाथा आरोही नायिका निशा अधिकारी, नेत्री विना मगरलगायत छन । सम्मानित महिला आरोहीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले कदरपत्रद्वारा सम्मान गरे ।

सो अवसरमा राज्यमन्त्री ठकुरीले समाजमा महिलाले कुनै पनि क्षेत्रमा साहसिक योगदान गर्न सक्छन् भन्ने दरिलो उदाहरण पेस गरेको उल्लेख गरिन । यस किसिमको कार्यक्रमले दिवसको औपचारिकता मनाउने मात्र नभई महिलाहरुको साहसिक क्षमता र प्रतिभाको उजागरमा समेत मद्दत पुग्ने उनको भनाइ थियो ।

राज्यमन्त्री ठकुरीले समाजको संस्कारसँग लड्न सगरमाथा आरोहणभन्दा पनि कठिन रहेको उल्लेख गर्दै यो कार्यक्रमको माध्यमबाट महिला कुनै पनि क्षेत्रमा कमजोर छैनन् भन्ने सन्देश दिएको विश्वास व्यक्त गरिन । उनले भनिन, “आज सम्मानित हुने कीर्तिमानी महिलालाई सगरमाथा आरोहण गर्न बरु सजिलो लाग्यो होला तर यो समाजको संस्कारसँग लड्न गाह्रो हुन्छ । किनकि अझै पनि समाजबाट निस्केर अघि बढ्न महिलालाई कठिनाइ छ ।”

पितृसतात्मक सोचबाट महिलाहरु बिस्तारै माथि उठ्दै गए पनि समाजमा अझै पनि महिला अधिकार र पहिचानमा पछि परिरहेको उनले उल्लेख गरिन । राज्यमन्त्री ठकुरीले मुलुकको आर्थिक समृद्धिको आधारका रुपमा रहेको पर्यटन क्षेत्रको विकास प्रवर्द्धनका लागि नीतिगत सुधार जरुरी रहेको बताइन ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले मुलुकको पर्वतीय पर्यटन विकासमा महिला आरोहीको उल्लेख्य भूमिका रहेको भन्दै उनीहरुको सम्मान र प्रोत्साहनमा राज्यले ध्यान दिनुपर्ने खाँचो औँल्याए । उनले नीतिगत व्यवस्था गरेर आरोहणका लागि नखुलेका पिकहरु क्रमशः खुलाएर जानुपर्ने धारणा राखे ।

ट्रेकिङ एजेन्सी एसासिएसन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बास्तोलाले पर्वतीय पर्यटनमा महत्वपूर्ण योगदान गर्ने महिला आरोहीको प्रोत्साहन र उनीहरुको सामाजिक सुरक्षालाई सुनिश्चित गर्न सम्बन्धित निकायले पहल गर्नुपर्ने बताए ।  सगरमाथा आरोही संघका अध्यक्ष माया शेर्पाले सरकारले पर्वतारोहणमा खटाउने सम्पर्क अधिकृतको कोटामा करिब ५० प्रतिशत आरोही सङ्घको प्रतिनिधित्व गराइदिन राज्यमन्त्रीमार्फत माग गरिन । अहिले सम्पर्क अधिकृतका रुपमा सङ्घबाट पाँचजनाको मात्रै प्रतिनिधित्व हुने गरेको उनको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य नवाङ निमा शेर्पाले महिला आरोहीको प्रोत्साहनका लागि नीतिगत व्यवस्था गरिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस