
काठमाडौं । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा जित्नै पेर्न दबावमा रहेको नेपालले महत्वपूर्ण दोस्रो विकेट हात पारेको छ ।
नेपालका बलरहरु माथि हावी बनेका युएईका कप्तान समेत रहेका ब्याट्स म्यान मोहम्मद वसिम आउट भएका हुन् उनलाई सन्दिप लामिछानेले एलबी डब्लु आउट गरेका छन् । नेपालका लागि यो विकेट महत्वपूर्ण रहेको थियो । वसिमले ६८ बलमा ६३ रन जोडेर नेपाललाई दबावमा पारिरहेका थिए ।
नेपालले आजको खेलमा करण केसीको ठाउँमा गुलशन झालाई समावेश गरेको छ । नेपाली टोलीमा झासँगै कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललितनारायण राजवंशी, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी छन् । विभिन्न सात राष्ट सहभागी शृङ्खलाको यो अन्तिम खेल हो ।
सन् २०१९ देखि सुरुआत भएको आइसीसी लिग–२ को अन्तिम खेल नेपालका लागि निर्णायक मानिएको छ । यस खेलमा नेपाल विजयी भए शीर्ष तीनमा रहँदै आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउने छ । यदि नेपाल युएईसँग पराजित भएको खण्डमा यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने छ । नेपाल पराजित भए नामिबियाले विश्वकप छनोट खेल्न पाउने छ ।
नेपाल लिग–२ मा ३५ मध्ये १८ मा जित र १५ मा हारसहित ३८ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । त्यस्तै नामिबिया ३९ अङ्क जोड्दै तेस्रो स्थानमा छ भने ३५ अङ्क जोडेको अमेरिका पाँचौँ स्थानमा छ । युएई ३५ खेलमा ३३ अङ्कका साथ छैटौँ स्थानमा छ । स्कटल्यान्ड ५० अङ्कका साथ शिर्ष र ओमान ४४ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगिसकेका छन् । पपुवा न्युगिनी ११ अङ्कका साथ तालिकाको अन्तिममा छ ।
प्रतिक्रिया दिनुहोस