
काठमाडौं । सन् २०२३ को सुरुवातदेखि नै नेपालको पर्यटकीय गतिविधिमा सुधार आएको छ । यस बेला नेपालमा भित्रिने पर्यटकको सङ्ख्या कोरोना महामारीपछि कै सुधारोन्मुख अवस्थामा छ ।
यस वर्षको सुरुवाती तीन महिना अर्थात् जनवरी, फेब्रुअरी र मार्च महिना मै दुई लाख भन्दा बढी विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका तीन महिनामा दुई लाख २७ हजार जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको यो सुधारले पर्यटन क्षेत्रलाई केही हदसम्म सकारात्मक ऊर्जा प्रदान गरेको पर्यटन बोर्डको भनाई छ । बोर्डको तथ्याङ्क अनुसार जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका छन् । यो महिना सबैभन्दा बढी पर्यटक भारतबाट आएको देखिन्छ । २०२३ को जनवरीमा भारतबाट मात्रै १६ हजार ४३६ जना पर्यटक नेपाल आएका छन् ।
त्यस्तै, सबैभन्दा बढी पर्यटक आएकाहरूको दोस्रो स्थानमा अमेरिका रहेको छ । जहाँबाट जनवरीमा महिना ६ हजार ५६१ जना पर्यटक नेपाल आएका थिए । त्यस अलावा अस्ट्रेलियाबाट ३ हजार ४४१ र बङ्गलादेशबाट २ हजार ४६८ जना पर्यटक नेपाल आएका छन् ।
नेपाल भित्रने पर्यटकको सङ्ख्या लगातार बढ्दै गएको तथ्याङ्कमा देखिन्छ । फेब्रुअरी महिनामा ७३ हजार २५५ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जनवरी महिनाको तुलनामा फेब्रुअरी महिनामा १८ हजारभन्दा बढी संख्यामा पर्यटक नेपाल आएका हुन्।
अघिल्लो वर्ष सन् २०२२ को फेब्रुअरीमा जम्मा १९ हजार सात सय ६६ पर्यटकको मात्र नेपाल आगमन भएको थियो । सन् २०२१ को सोही महिनामा भने नौ हजार एक सय ४६ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
यस वर्ष फेब्रुअरीमा भारतबाट १८ हजार चार सय एक पर्यटक आएका छन् । अमेरिकाबाट ७ हजार आठ सय ८७ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तै, थाइल्यान्डबाट चार हजार आठ सय दुई, दक्षिण कोरियाबाट तीन हजार दुई सय ४६, अस्ट्रेलियाबाट दुई हजार नौ सय ६९, चीनबाट दुई हजार दुई सय ६६, म्यानमारबाट दुई हजार दुई सय ३२, श्रीलङ्काबाट दुई हजार एक सय १७ र जर्मनीबाट दुई हजार एक सय आठ पर्यटक नेपाल भित्रिएका छन् ।
त्यस्तै, मार्च महिनामा मात्रै करिब एक लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस अवधिमा ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका छन् ।
तेस्रो महिनामा सार्क राष्ट्रबाट ३३ हजार ४५४, अन्य एसियाली मुलुकहरूबाट १५ हजार ६४३, युरोपबाट २३ हजार २६५, ओसियन राष्ट्रबाट तीन हजार ९५८ जना पर्यटक नेपाल आएका छन् । साथै, क्यानडाबाट एक हजार ७०७, अमेरिकाबाट नौ हजार ५५७ का साथै मध्यपूर्व लगायतका देशबाट १० हजार ३७५ पर्यटक नेपाल भित्रिएका छन् ।
यस अवधिमा सबैभन्दा धेरै भारतबाट २५ हजार ९११ पर्यटक नेपाल आएका छन् । जबकि गत वर्षको मार्च महिनामा भारतबाट १५ हजार १३ जना पर्यटक आएका थिए ।
अमेरिकाबाट गत वर्षको सोही अवधिमा चार हजार ८९६ पर्यटक आएकोमा यस पटक नौ हजार ५५७ जना पर्यटक आएका छन् । मार्च महिनामा भारत, अमेरिका, युके, जर्मनी र श्रीलङ्काबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् ।
पछिल्लो तथ्याङ्कमा महामारीपछि मार्च महिनामा हालसम्मकै सर्वाधिक सङ्ख्यामा पर्यटक आएको देखिन्छ । कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने केही बढेको थियो । सो वर्ष छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । महामारी पूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए ।
तर, सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई सो वर्ष दुई लाख ३० हजार ८५ जना मात्र पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी, २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए ।
नेपाल पर्यटन महोत्सव आयोजना हुने
नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै पर्यटनको नीतिगत बहस र पैरवी गर्ने उद्देश्यले नेपाल पर्यटन महोत्सव ‘नेपाल टुरिज्म फेस्टिभल २०२३’ आयोजना हुने भएको छ । वैशाख १ गतेलाई आन्तरिक पर्यटन दिवसका रुपमा मनाउने लक्ष्यका साथ महोत्सवको आयोजना गर्न लागिएको हो ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले महोत्सवका माध्यमबाट पर्यटनको नीतिगत सुधारमा सरोकारवालाको धारणासहित दिगो पर्यटन विकासका निम्ति महोत्सवले भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्व अध्यक्ष अच्युत गुरागाईँले नेपालको पर्यटन नीतिलाई समयसापेक्ष बनाउन बहस र पैरवी गर्दै पर्यटनको नीति र योजना बनाउन महोत्सव उपयोगी बताएका छन् ।
सो महोत्सवमा विभिन्न बिदाको पर्यटन केन्द्रित दश ‘सेसन’ सञ्चालन हुनेछन् । महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्दै छन् अन्तिम सेसन ‘पर्यटनमा राजनीति: मिसन, भिजन र भिजिट नेपाल’ शीर्षक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको हुने आयोजकले जनाएको छ ।
‘घुम्ने, घुमाउने र घुम्न प्रेरित गर्ने’ मूल नाराका साथ आयोजना हुने महोत्सवको अन्य सेसनमा ‘पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास’, स्वास्थ्य पर्यटन, चलचित्र पर्यटन, चलचित्र पर्यटन, पर्यटनमा जलवायु परिवर्तनको असर र हिमाल सेसन सञ्चालन गरिनेछ ।
युवा पर्यटन अभियन्ता, सात प्रदेशको पर्यटन सम्भावना, सम्पदा, ‘एयरलाइन्स टुरिज्म’ का साथै नेपालमा रहेका विभिन्न विदेशी राजदूतको नेपाल अनुभव, खेल तथा सौन्दर्य पर्यटनबारे छलफल हुने आयोजकले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस