aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पर्यटक आगमनसँगै हिमाल आरोहण गर्ने बढे, तीन सयबढीले लिए अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ चैत्र २०७९
पर्यटक आगमनसँगै हिमाल आरोहण गर्ने बढे, तीन सयबढीले लिए अनुमति

काठमाडाै‌ । यस वर्षको बसन्त ऋतुमा हिमाल आरोहणका लागि ३ सय भन्दा बढीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२३ को अप्रिल ५ तारिकसम्म १५ वटा हिमाल आरोहणका लागि ३०४ जनाले अनुमति लिएका छन् । 

विभागका अनुसार अनुमित लिएकाहरुमा ३९ वटा टिम रहेको छ  । जसमा २४२ जना पुरुष र ६२ जना महिला रहेका छन् । यो सिजनका लागि ४८ देशका पर्यटकहरुले हिमाल आरोहणको अनुमति लिएका हुन् । हिमाल आरोहणको अनुमति लिएकाहरुबाट १७ करोड ८१ लाख ७७ हजार ९७६ रुपैयाँ बराबरको रोयल्टी संकलन भएको विभागले जनाएको छ । 

सन् २०२३ को सुरुवातदेखि नै नेपालको पर्यटकीय गतिविधिमा सुधार आएको छ । यस बेला नेपालमा भित्रिने पर्यटकको सख्या कोरोना महामारीपछि कै सुधारोन्मुख अवस्थामा छ ।

यस वर्षको सुरुवाती तीन महिना अर्थात् जनवरी, फेब्रुअरी र मार्च महिना मै दुई लाख भन्दा बढी विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका तीन महिनामा दुई लाख २७ हजार जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

कुन हिमाल आरोहणका लागि कतिले लिए अनुमति ?

विभागका अनुसार यो सिजनमा सुर्मा सरोवर आरोहणका लागि २ जनाले अनुमति लिएका छन् । जसबाट एक लाख पाँच हजार ३२० रुपैयाँ रोयल्टी संकलन भएको छ ।

त्यस्तै, यो सिजनमा अन्नपूर्ण आरोहणका लागि सबैभन्दा बढी ५४ जनाले अनुमति लिएका छन् । जसमा १६ जना महिला र ३८ जना पुरुष रहेका छन् । एक करोड ४ लाख २६ हजार ४१० रुपैयाँ रोयल्टी संकलन भएको छ । त्यसैगरी, पांग्री गोल्डुम्बा आरोहण लागि अनुमति लिएका ६ जनाबाट तीन लाख १६ हजार ४४० रुपैयाँ रोयल्टी संकलन भएको छ ।

मनास्लु हिमाल आरोहण लागि अनुमति लिएका १५ जनाबाट ३५ लाख ४३ हजार ८४० रुपैयाँ र थोरोङ पिक आरोहणका लागि अनुमति लिएका १६ जनाबाट ५ लाख २४ हजार ९०२ रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।

विभागका अनुसार बरुण त्से हिमाल आरोहण्का लागि ९ जनाले अनुमति लिएका छन् । यस वर्षको बसन्त ऋतुमा ल्होस्से हिमाल आरोहणका लागि ३० जानले अनुमति लिएका छन् । जसमा २५ पुरुष र ५ महिला रहेका छन् । उनीहरुबाट ५९ लाख २ हजार ६५० रुर्पैयाँ रोयल्टी संकलन भएके छ । 

त्यस्तै, नुप्से हिमालका लागि अनुमति लिएका तीन जनाबाट २ लाख ३७ हजार ६० रुपैयाँ रोयल्टी संकलन भएको छ । विभागका अनुसार हिमलुङ हिमालका लागि यो सिजनमा १२ जना पर्यटकले अनुमति लिएका छन् । जसबाट ७ लाख ८७ हजार ५ सय रुपैयाँ रोयल्टी संकलन भएको छ । 

त्यसैगरी, ग्यानचेन्पो हिमाल आरोहणका लागि यो सिजनमा ४ जनाले  अनुमति लिएका छन् । जसबाट एक लाख ३२ हजार ४ सय रुपैयाँ रोयल्टी संकलन भएको छ । धौलागिरी हिमाल आरोहणका लागि अनुमति लिएका १५ जनाबाट ३४ लाख ४५ हजार एक सय रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ । 

विभागका अनुसार यस वर्षको बसन्त ऋतुका लागि थापा पिक (धम्पुस) हिमालका लागि अनुमति लिएका २ जनाबाट २ लाख ६२ हजार रुपैयाँ र जक्र्या पिकका लागि अनुमति लिएका ८ जनाबाट २ लाख ६२ हजार ८ सय रुपैयाँ रोयल्टी संकलन भएको छ । 

त्यस्तै, यस वर्षको बसन्त ऋतुमा अमाडब्लम १३ जनाले अनुमति लिएका छन् । अनुमति लिनेमा १० जना पुरुष ३ जना महिला रहेका छन् । जसबाट ६ लाख ८४ हजार रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।

सगरमाथा हिमाल आरोहणका लागि ११५ ले लिए अनुमति

विभागका अनुसार सगरमाथा हिमाल आरोहणका लागि १७ देशका ११५ जना पर्यटकले अनुमति लिएका छन् । जसमा २१ महिला र ९४ पुरुष रहेका छन् । यो सिजनमा १३ वटा टिमले सगरमाथा हिमालको आरोहण गर्ने छ विभागले जनाएको छ । हिमाल आरोहणको अनुमति लिएकाहरुबाट १५ करोड १७ लाख ४४ हजार ५१९ रुपैयाँ रोयल्टी संकलन भएको छ ।

सगरमाथा आरोहणको अनुमति लिनेमा सबैभन्दा बढी अमेरिका पर्यटकहरु रहेका छन् । विभागले प्रकाशित गरेको सूचना अनुसार यो सिजनमा सगमाथा आरोहण लागि अमेरिकाका २९ पर्यटकले अनुमति लिएका छन् । जसमा ४ महिला र २५ पुरुष रहेका  छन् । 

त्यस्तै, यो सिजनमा सगरमाथा आरोहणका लागि अनुमित लिने पर्यटकहरुमा भारतका १६, नेपालका १०, क्यानडाका ८, चीनका ६, बेलायतबा ५, अष्ट्रेलिका ५, फ्रान्सबा ५ र जर्मनीका ४ नागरिक रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस