aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

काठमाडौं संसार कै प्रदुषित शहर बन्दा हवाई सेवा अवरुद्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ बैशाख २०८०
काठमाडौं संसार कै प्रदुषित शहर बन्दा हवाई सेवा अवरुद्ध

काठमाडौं । अहिले मुलुुकभर वायु प्रदुषणकाे मात्रा अत्याधिक बढेको छ । स्वभाविक रुपमा काठमाडौंको वायु प्रदषित भई आकाशमा धुँवा र धुलोको कण जम्मा हुँदा पुरै आकाश तुवाँलोले ढाकेको छ । जसका कारण आन्तरिक हवाई उडान समेत प्रभावित भएका छन् । बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुदाँ पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार पोखरासहित तीन आन्तरिक गन्तव्यमा पूर्णरूपमा उडान प्रभावित भएको छ । सिमराको उडान भर्खरै खुलेको छ । पोखरा, भरतपुर र तुम्लिङटारको उडान अझै खुल्न सकेको छैन । तीन गन्तव्यहरूमा अहिलेसम्म उडान हुन नसके पनि केही गन्तव्यहरूमा भने मौसम खुलेसँगै उडान सुरु भएको हो ।

विमानस्थलका अनुसार आज आन्तरिकतर्फ एक सय १५ उडान तालिका छन् । तीनदिनदेखि राजधानीसँगै देशका अन्य क्षेत्रमा समेत वायु प्रदूषण बढ्दा हवाई उडान प्रभावित हुन पुगेको हो । गत शुक्रवार र शनिवार पनि पोखराको उडान प्रभावित भएको थियो ।

अन्तर्राष्ट्रियतर्फ विहान केही समय उडान सामानय प्रभावित भए पनि अहिले नियमित  उडान भइरहेको प्रवक्ता सिटौलाले उल्लेख गरे । कतार एयरवेजको जहाजले विमानस्थलमा गलत दिशा ‘मिस एप्रोच’ लिएकाले करिब दुई घण्टा ‘होल्ड’ (आकासमा फन्को लगाउने) भएको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामानय बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । राजधानी काठमाडौँ उपत्यकाको आकाशमा गत शुक्रबारदेखि बाक्लो तुवालो लागिरहेको छ ।

विश्वभरको वायु प्रदुषण बारे रियल टाइम जानकारी दिने वेवसाइट डब्लुएक्युआई डट इन्फोका अनुसार आइतबार दिँउसो साँढे १२ बजे काठमाडौंको वायुको गुणस्तरको मात्रा २११ पुगेको छ ।

यो अत्याधिक अस्वस्थकर मानिन्छ । जसबाट यो स्तरमा रहेको हावाले जुनसुकै उमेर समुहका मानिसहरुलाई पनि नकारात्मक असर पार्ने चिकित्सकहरुको भनाई छ ।

अस्वस्थकर हावा र वायुका कारण मानिसहरुलाई स्वासप्रस्वास सम्बन्धी विभिन्न रोगहरु लाग्नेभन्द्यै चिकित्सकहरुले अति आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन समेत सचेत गराएका छन् । देशका अन्य भागहरुमा समेत अत्याधिक वायु प्रदुषण हुँदा सूर्यको प्रकाश छेकिन गई मधुरो घाम लागेको छ । आइक्यु एआरका अनुसार आज काठमाडौं विश्वको सर्वाधिक प्रदुषित शहरको शीर्ष स्थानमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस