
काठमाडौ । यस वर्षको बसन्त ऋतुमा हिमाल आरोहणका लागि ७ सय भन्दा बढीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२३ को अप्रिल १६ तारिखसम्म २३ वटा हिमाल आरोहणका लागि ७४३ जनाले अनुमति लिएका छन् ।
विभागका अनुसार अनुमित लिएकाहरुमा ८५ वटा टिम रहेको छ । जसमा ५८४ जना पुरुष र १५९ जना महिला रहेका छन् । यो सिजनका लागि ७५ देशका पर्यटकहरुले हिमाल आरोहणको अनुमति लिएका हुन् । हिमाल आरोहणको अनुमति लिएकाहरुबाट ५२ करोड ४२ लाख २० हजार ७७० रुपैयाँ बराबरको रोयल्टी संकलन भएको विभागले जनाएको छ ।
कुन हिमाल आरोहणका लागि कतिले लिए अनुमति ?
विभागका अनुसार यो सिजनमा सुर्मा सरोवर आरोहणका लागि २ जनाले अनुमति लिएका छन् । जसबाट एक लाख पाँच हजार ३२० रुपैयाँ रोयल्टी संकलन भएको छ ।
त्यस्तै, यो सिजनमा अन्नपूर्ण आरोहणका लागि सबैभन्दा बढी ५४ जनाले अनुमति लिएका छन् । जसमा १६ जना महिला र ३८ जना पुरुष रहेका छन् । एक करोड ४ लाख २६ हजार ४१० रुपैयाँ रोयल्टी संकलन भएको छ । त्यसैगरी, पांग्री गोल्डुम्बा आरोहण लागि अनुमति लिएका ६ जनाबाट तीन लाख १६ हजार ४४० रुपैयाँ रोयल्टी संकलन भएको छ ।
मनास्लु हिमाल आरोहण लागि अनुमति लिएका १५ जनाबाट ३५ लाख ४३ हजार ८४० रुपैयाँ र थोरोङ पिक आरोहणका लागि अनुमति लिएका २३ जनाबाट ७ लाख ५४ हजार ३२७ रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।
विभागका अनुसार बरुण त्से हिमाल आरोहण्का लागि ९ जनाले अनुमति लिएका छन् । यस वर्षको बसन्त ऋतुमा ल्होस्से हिमाल आरोहणका लागि ६१ जनाले अनुमति लिएका छन् । जसमा ४४ पुरुष र १७ महिला रहेका छन् । उनीहरुबाट एक करोड ३० लाख १० हजार ९५० रुपैयाँ रोयल्टी संकलन भएको छ ।
त्यस्तै, नुप्से हिमालका लागि अनुमति लिएका २५ जनाबाट १९ लाख ७० हजार ५२० रुपैयाँ रोयल्टी संकलन भएको छ । विभागका अनुसार हिमलुङ हिमालका लागि यो सिजनमा १२ जना पर्यटकले अनुमति लिएका छन् । जसबाट ७ लाख ८७ हजार ५ सय रुपैयाँ रोयल्टी संकलन भएको छ ।
त्यसैगरी, ग्यानचेन्पो हिमाल आरोहणका लागि यो सिजनमा ४ जनाले अनुमति लिएका छन् । जसबाट एक लाख ३१ हजार ४ सय रुपैयाँ रोयल्टी संकलन भएको छ । धौलागिरी हिमाल आरोहणका लागि अनुमति लिएका ३० जनाबाट ६९ लाख ७५ हजार ३५० रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।
विभागका अनुसार यस वर्षको बसन्त ऋतुका लागि थापा पिक (धम्पुस) हिमालका लागि अनुमति लिएका ६ जनाबाट एक लाख ९७ हजार ५२५ रुपैयाँ र जक्र्या पिकका लागि अनुमति लिएका ८ जनाबाट २ लाख ६२ हजार ८ सय रुपैयाँ रोयल्टी संकलन भएको छ ।
त्यस्तै, यस वर्षको बसन्त ऋतुमा अमाडब्लम ४९ जनाले अनुमति लिएका छन् । अनुमति लिएकाहरुबाट २५ लाख ७० हजार ४२० रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ । त्यस्तै, मकालु हिमाल आरोहणका लागि अनुमति लिएका ४२ जनाबाट ९८ लाख ९७ हजार ५६० रुपैयाँ, अरनिको चुली हिमाल आरोहणका लागि अनुमति लिएका ९ जनाबाट २ लाख ९५ हजार ९८७ रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।
विभागका अनुसार खातुङ खाङ हिमाल आरोहणका लागि अनुमति लिएका सात जनाबाट २ लाख २९ हजार ४२५ रुपैयाँ, तु त्से पिकका लागि अनुमति लिएका २ जनाबाट एक लाख ४ हजार रुपैयाँ, पुमोरी हिमालका लागि अनुमति लिएका १२ जनाबाट सात लाख ८६ हजार ९ सय रुपैयाँ रोयल्टी संकलन भएको छ ।
त्यस्तै, कञ्चनजंघाका लागि आरोहण अनुमति लिएका ४२ जनाबाट ९८ लाख ९८ हजार ९२० रुपैयाँ, कब्रु हिमाल आरोहणका लागि अनुमति लिएका चार जनाबाट १ करोड ९० लाख २ हजार रुपैयाँ र तेङगी रागी ताउ (अगोले) हिमालका आरोहणका लागि अनुमति लिएका २ जनाबाट एक लाख ४ हजार रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।
सगरमाथा हिमाल आरोहणका लागि ३ सयबढिले लिए अनुमति
विभागका अनुसार सगरमाथा हिमाल आरोहणका लागि ५६ देशका ३१९ जना पर्यटकले अनुमति लिएका छन् । जसमा ५४ महिला र २६५ पुरुष रहेका छन् । यो सिजनमा ३१ वटा टिमले सगरमाथा हिमालको आरोहण गर्ने विभागले जनाएको छ । हिमाल आरोहणको अनुमति लिएकाहरुबाट ४४ करोड २८ लाख ४७ हजार ९५६ रुपैयाँ रोयल्टी संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस