
एजेन्सी । रोयल च्यालेञ्जर्स बेंग्लोरले आईपीएल-२०२३ को एउटा रोमाञ्चक प्रतिस्पर्धामा चेन्नई सुपर किङ्सविरुद्ध ८ रनको हारको सामना गर्नु परेको छ । सोमबार राति बेंग्लोरको एम.चिन्नास्वामी स्टेडियममा खेलिएको प्रतिस्पर्धामा चेन्नईले बेंग्लोरलाई जीतका लागि २२७ रनको लक्ष्य दिएको थियो, तर ग्लेन म्याक्सवेल तथा फाफ डु प्लेसिसको विष्फोटक इनिङका बावजूद बेंग्लोरले लक्ष्यसम्म पुग्न सकेन ।
यो खेलमा ग्लेन म्याक्सवेलले ७६ तथा डु प्लेसिसले ६२ रनको इनिङ खेले । यो जीतसंगै चेन्नई सुपर किङ्स अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ । चेन्नईले पाँचमध्ये तीन खेल जितेको छ भने दुई खेलमा पराजित भएको छ । बेंग्लोरको टीम भने पाँचमध्ये दुई खेलमा जीत हासिल गर्दै तालिकाको सातौं स्थानमा छ । प्वाइन्ट टेबलको पहिलो स्थानमा राजस्थान रोयल्स छ, जसले पाँच मध्ये चार खेलमा जीत हासिल गरेको छ ।
विशाल लक्ष्य पछ्याउने क्रममा बेंग्लोरको सुरुवात खराब रह्यो र उसले पहिलो ओभरमै विराट कोहलीको विकेट गुमायो । कोहली ६ रन बनाएर आकाश सिंहको बलमा बोल्ड भए । चेन्नईले दोस्रो ओभरमै महिपाल लोमरोरलाई शून्य रनमा आउट गरायो । १५ रनमा दुई विकेट गुमाएपछि ग्लेन म्याक्सवेल तथा फाफ डु प्लेसिसले उत्कृष्ट ब्याटिङ गर्दै चिन्नास्वामी स्टेडियममा उपस्थित हजारौं प्रशंसकलाई खुशीमा रमाउन बाध्य बनाए ।
म्याक्सवेल तथा डु प्लेसिसबीच ६१ बलमा १२६ रनको साझेदारी भयो । महीष तीक्ष्णाले ग्लेन म्याक्सवेलको विकेट लिएर यो साझेदारीलाई तोडे । म्याक्सवेलले ३६ बलमा ७६ रन बनाए, जसमा तीन चौका तथा आठ छक्का समावेश थिए ।
१४ औं ओभरमा मोईन अलीको अन्तिम बलमा फाफ डु प्लेसिस पनि आउट भए । उनले ३३ बलमा ६२ रन बनाए । डु प्लेसिस आउट हुँदा बेंग्लोरको स्कोर १४ ओभरमा चार विकेटमा १५९ रन थियो ।
यहाँबाट बेंग्लोरलाई ६८ रनको आवश्यकता थियो र छ ओभर बाँकी थियो, तर दिनेश कार्तिक र शाहबाज अहमद यही बेला आउट हुनु बेंग्लोरलाई भारी पर्यो । कार्तिकले २८ तथा शाहबाजले १२ रनको योगदान दिए । खेलको अन्तिम ओभरमा बेंग्लोरलाई १९ रनको आवश्यकता थियो, तर पथिरानाले केवल १० रन दिएपछि चेन्नईले खेल जित्यो । चेन्नईका तुषार देशपाण्डेले सबैभन्दा बढी तीन तथा पथिरानाले दुई विकेट लिए ।
त्यसअघि चेन्नई सुपर किङ्सका डेभोन कोन्वेले ८३ रन, शिभव दुबेले ५२ रन, अजिंक्य रहाणेले ३७ रन बनँएपछि यो टीमले बेंग्लोरविरुद्ध २२७ रनको लक्ष्य प्रस्तुत गर्न सफल भयो । चेन्नईले ६ विकेटको क्षतीमा २२६ रन जोडेको थियो । आईपीएल २०२३ मा आज मंगलबार राति ७ः४५ बजेदेखि सनराइजर्स हैदराबाद तथा मुम्बई ईन्डियन्सबीचको खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस