aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

स्मार्ट मिटरका लागि एनटीसीले १ लाख ५० हजार थान ई–सिम दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ बैशाख २०८०
स्मार्ट मिटरका लागि एनटीसीले १ लाख ५० हजार थान ई–सिम दिने

काठमाडौं । नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि १ लाख ५० हजार थान ई–सिम उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा दुई संस्थाबीच  आज (२०८० बैशाख ७ गते) एक सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र नेपाल विद्युत प्राधिकरणको तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक अच्युत बाबु घिमिरेले हस्ताक्षर गरे । 

सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले नेपाल विद्युत प्राधिकरणसँगको व्यावसायिक सहकार्यका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे । नेपाल विद्युत प्राधिकरणका निर्देशक अच्युत बाबु घिमिरेले पहिलेदेखि नै स्मार्ट मिटरमा नेपाल टेलिकमको सिम प्रयोग भइरहेकोमा आगामी दिनमा नयाँ प्रविधियुक्त ई–सिममार्फत सेवा उपलब्ध हुने भएकोमा खुशी व्यक्त गरे । 

नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल सम्बन्धी जानकारीका लागि स्मार्ट मिटरको प्रयोग गरिरहेको छ । यसको सहयोगले कार्यालयबाटै विद्युत खपत बारेमा जानकारी लिन सकिनुका साथै लाइन काट्न र विद्युत चुहावट नियन्त्रण लगायतका कार्य गर्न सहयोग पुग्दछ ।

 ई–सिमले प्राधिकरणको सिस्टम र स्मार्ट मिटरको बीचमा सञ्चार सुविधा उपलब्ध गराउन सहयोग गर्छ । १०० एम्पियरसम्म क्षमता भएका थ्री फेज ग्राहकहरुका लागि ई–सिम प्रयोग गरिने छ । नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणलाई यस अघि पनि स्मार्ट मिटर प्रयोजनका लागि ५३ हजार थान सिम उपलब्ध गराइसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस