aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सन्दीपको कीर्तिमान सहित नेपालको सानदार जित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ बैशाख २०८०
सन्दीपको कीर्तिमान सहित नेपालको सानदार जित

काठमाडौँ । एसीसी प्रिमियम कपको शुक्रबार भएको खेलमा नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ । नेपालले दिएको ३११ रनको लक्ष्य ओमानले पुरा गर्न सकेन ।

नेपाललाई पच्छ्याउने क्रममा  ओमानले २२६ रन मात्र जोड्यो । जम्मा ४६.३ ओभरमा नवौँ विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन नसकेपछि नेपाल विजयी भएको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मदतमा कीर्तिमानी ३१० रन बनाएको थियो ।

आजको खेलमार्फत नेपाली क्रिकेटका चर्चित खेलाडी सन्दीप लामिछाने कम खेलमा नै १०० विकेट लिने विश्वका पहिलो बलर बनेका छन्। नेपाली स्पीनर लामिछानेले एसीसी प्रिमिअर कपको बिहीबार ओमान विरुद्धको खेलमा अदिल शफिक को विकेट लिएसँगै उनले यो उपलब्धि हात पारेका हुन्।

लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट लिने नेपालको पहिलो बलर पनि बनेका छन्। उनले ४२ खेल खेलेर १०० विकेट लिएका हुन् ।

आजको खेलमा १३औँ ओभरमा क्रिजमा ल्याइएका लामिछानेले आफ्नो ओभरको तेस्रो बलमा नै १३ रन बनाएर खेलिरहेका शफिकलाई एलबीडब्लु आउट गरेका थिए। त्यसपछि समर्थकहरूले 'बधाई सन्दीप' लेखेको ब्यानर प्रदर्शन गरेका थिए।

सोही ओभरमा लामिछानेले अर्को विकेट पनि लिए। ओभरको अन्तिम बलमा उनले जीसन मक्सुदलाई बोल्ड गरेका थिए। सोही खेलको १५ औँ ओभरमा फेरि उनले पहिलो बलमै अर्को विकेट लिए।

आजकै खेलमा तेस्रो विकेट लिँदै २५ रन बनाएर क्रिजमा जमिरहेका कश्यप प्रजापतिलाई लामिछानेले फेरी एलबीडब्लुको सिकार बनाए ।

उनले यसअघि अफगानिस्तानका राशिद खानको नाममा रहेको कीर्तिमान तोडेका हुन्। खानले सन् २०१५ मा ४४ खेल खेलेर बनाएको कीर्तिमान ४२ खेलमा नै उनले तोडेका हुन् ।

प्रतिक्रिया दिनुहोस