aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

‘खोटेहाङ अध्यक्ष कप’को उपाधिसँगै ७५ हजार जित्यो बासिखोराले

  • रासस
    रासस
  • शनिबार, १६ बैशाख २०८०
‘खोटेहाङ अध्यक्ष कप’को उपाधिसँगै ७५ हजार जित्यो बासिखोराले

खोटाङ । ‘खोटेहाङ गाउँपालिका अध्यक्ष कप’ भलिबल प्रतियोगिताको पाँचौँ संस्करणको  पुरुषतर्फको उपाधि सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३ बाह्रबिसे तथा महिलातर्फको उपाधि भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ बासिखोराले जितेको छ ।  

खोटेहाङको छैटौँ वार्षिकोत्सवको अवसरमा अन्तरपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो । खोटेहाङ–३ सावाकटहरेस्थित सावाकाली माध्यमिक विद्यालयको मैदानमा शुक्रबार सम्पन्न पुरुष भलिबल प्रतियोगिताको विजेता सभापोखरी–३ ले रु एक लाख १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । सो स्पर्धामा भोजपुरको  रामप्रसाद राई–५ मानेभञ्ज्याङ्ग दोस्रो भइ रु ७० हजार प्राप्त गर्‍यो ।  

पुरुषतर्फ विभिन्न जिल्लाका २६ टोलीले भाग लिएका थिए । तेस्रो भएका बराहपोखरी गाउँपालिका–४ फाक्टाङ र खोटेहाङ गाउँपालिका–१ लिकुवा पोखरीले रु ३५÷३५ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । 

यसैगरी महिलातर्फको विजेता रामप्रसाद राई गाउँपालिका–८ बासिखोराले रु ७५ हजार, दोस्रो हुने भोजपुरकै आमचोक गाउँपालिका–९ दुम्मानाले रु ४० हजार तथा तेस्रो हुने बराहपोखरी गाउँपालिका–४ फाक्टाङ र खोटेहाङ गाउँपालिका–१ लिकुवा पोखरीले रु २५÷२५ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी सभापोखरीका दिलबहादुर विष्ट, उत्कृष्ट लिफ्टर सभापोखरीकै गजेन्द्र राई र उत्कृष्ट स्पाइकर रामप्रसाद राई गाउँपालिकाका दिनेश तामाङ घोषित भए । 

यसैगरी महिलातर्फ सर्वोत्कृष्ट रामप्रसाद राई गाउँपालिकाकी ममता राई, उत्कृष्ट लिफ्टरमा रामप्रसाद राई गाउँपालिकाकै मनकला राई र उत्कृष्ट स्पाइकरमा आमचोककी आरुशा तामाङ घोषित भए । उनीहरुलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिएको छ । विजेता खेलाडीलाई गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई,  उपाध्यक्ष रुपेश राई, प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईलगायतले पुरस्कार प्रदान गरेका थिए ।

यसअघि गत वर्ष सम्पन्न भएको चौथो संस्करणको पुरुषतर्फको भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका–१ नेपालेडाँडा तथा महिलातर्फको उपाधि ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोलीले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस