aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्याराग्लाइडिङले पर्यटन प्रवद्र्धनमा मद्दत पुग्छः प्रधानमन्त्री दाहाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ बैशाख २०८०
प्याराग्लाइडिङले पर्यटन प्रवद्र्धनमा मद्दत पुग्छः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङले ठूलो मद्दत पुग्ने बताएका छन् । हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको प्याराग्लाइडिङको सोमबार उद्घाटन गर्दै उनले चितवनको पर्यटनलाई यसले थप टेवा पुग्ने बताएका हुन् ।

उनले भने, “चितवनमा पर्यटन विकासका लागि प्याराग्लाइडिङले थप मद्दत पुग्छ ।” प्याराग्लाइडिङ साहसी पर्यटकका लागि महत्वपूर्ण खेल भएको उनले बताए । उनले भने, “यो खेल सुरक्षित र साहसी खेल हो ।”

आफु पनि मौका मिलाएर यहाँ आएर खेल्ने उनले बताए । साहसी खेलमध्ये सुरक्षित मानिएको प्याराग्लाइडिङ भएको उनको भनाइ थियो । युवा उद्यमीको पहलमा भएको यस कार्यले खुसी लागेको उनले बताए । नेपालले अन्तराष्ट्रियस्तरमा पर्यटनको क्षेत्रले नयाँ उत्पादन दिन सक्ने गरी यो खेल आएको उनले बताए ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पर्यटनको क्षेत्रमा यो खेलले महत्वपूर्ण योगदान पुग्ने बताए । प्याराग्लाइडिङका लागि तोकेको मापदण्ड पूरा गरी सुरक्षित रुपमा खेलाइनुपर्ने उनको भनाइ थियो । पर्यटकीय दृष्टिले तेस्रो स्थानमा रहेको चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको वैशाख १ गते देखि व्यावसायिक उडान सुरु गरिएको हो ।

जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रुपमा प्याराग्लाइडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष विजयबहादुर घलेले जानकारी दिए । भरतपुर महानगरपालिका–२९ चौकीडाँडामा साहसिक खेलको रूपमा चिनिने प्याराग्लाइडिङको उडान सुरु गरिएको हो ।

जङ्गल सफारीका लागि चितवन आउने पर्यटकलाई नयाँ गन्तव्यका रुपमा बसाइँ लम्ब्याउन सकिने गरी प्याराग्लाइडिङ सुरु गरिएको उनले बताए । समुद्री सतहबाट एक हजार दुई सय मिटर अग्लो स्थानबाट उडान गर्न लागिएको हो । चितवनको चौकीडाँडाबाट प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण गर्ने गरी प्याराग्लाइडिङको उडान सुरु गरिएको हो । 

यस क्षेत्रबाट उडान गर्दा २० देखि ३० मिनेटको समय लाग्ने उनले बताए । हाल १० प्याराग्लाइडिङ उडानका लागि ल्याइएका छन् । दैनिक ४५ जनासम्मलाई उडान गर्न सकिने छ । सन् २०१५ मा विदेशीले यहाँ उडान भरेको पाइन्छ । पोखरा र यहाँमा छुट्टै विशेषता रहेको घलेको भनाइ छ ।

पोखरामा तालमाथि उड्ने, हिमाल देखिने लगायतका कारण छुट्टै रमाइलो रहेको जनाउँदै उनले यहाँको नागबेली परेको सडक र त्रिशूली नदी माथिको उडान अझै महत्वपूर्ण रहेको बताए ।

विगत सात वर्षदेखि अनुभव सगाँलेका चालकबाट उडान गरिने प्याराग्लाइडिङबाट डाँडाकाँडादेखि खोलानालाको सुन्दर दृश्य हेर्न सकिने भएकाले यहाँ उडानका लागि राम्रो मानिएको हो । नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट नौ किलोमिटर उत्तर र जुगेडीबाट पाँच किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस