aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

टन्नै आए विदेशी पर्यटक, व्यवसायी नै भन्छन्- राजश्वमा छैन योगदान

  • रिता राउत
    रिता राउत
  • बुधबार, २० बैशाख २०८०
टन्नै आए विदेशी पर्यटक, व्यवसायी नै भन्छन्- राजश्वमा छैन योगदान
फाइल फोटो

काठमाडौं । सन् २०२३ को सुरुवातदेखि नै नेपालको पर्यटकीय गतिविधिमा सुधार आएको छ । पर्यटक आगमनको सङ्ख्या दिनप्रतिदिन बढ्दा यस क्षेत्रमा उत्साह थपिएको छ।

यस वर्षको सुरुवाती चार महिना अर्थात् जनवरी, फेब्रुअरी, मार्च र अप्रिल महिनामै तीन लाख भन्दा बढी विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागका अनुसार सन् २०२३ को चार महिनामा तीन लाख २५ हजार सात सय जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

यसबिच चीनबाट नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या निकै नै बढेको छ । केही साता अगाडी एक एयरलाइन्सको विमान चार्टर्ड गरेरै चिनियाँ पर्यटक नेपाल आएका थिए । अप्रिल महिनामा यो देशबाट चार हजार सात सय ७० चिनियाँ पर्यटक नेपाल आएका छन् ।  

पछिल्लो समय नेपाल आउने पर्यटकको संख्यामा सुधार भएको अध्यागमन विभाग अन्तर्गत रहेको पर्यटक भिसा शाखाका निर्देशक खिमराज भुसाल बताउँछन् । उनी भन्छन्, ‘कोरोना महामारीका कारण पर्यटन क्षेत्र सुस्ताएको थियो । तर, अहिले सुधार आएको छ । एक महिनामै करिब एक लाख संख्यामा पर्यटक आएका छन् ।’

उनका अनुसार कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा नराम्ररी असर पारेको थियो । तर, अहिले पर्यटक आएको तथ्याङ्क हेर्दा पर्यटन पुनरुत्थान भएको देखिन्छ । सन् २०२२ मा ६ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।  

तर, कोरोना महामारी सुरु हुनु भन्दा अगाडी सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । सन् २०२० मा भने दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिए । यसका साथै सन् २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए । यो दुई वर्ष भने कोरोना महामारीका कारण विदेशी पर्यटक आगमन घटेको थियो ।    

यहाँ उल्लेख गरिएको तथ्याङ्क हवाई मार्गबाट पर्यटक आएको सङ्ख्या हो । तर, पैदल मार्गबाट पनि धेरै भारतीय पर्यटक आउने गरेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने बताउँछन् ।

उनी भन्छन्, ‘हामीले हवाई मार्गबाट आएका पर्यटक मात्रै हेर्दा पनि राम्रो रहेको छ । उता पैदल मार्गबाट आएको समेत हेर्दा पर्यटक आगमनको सङ्ख्या उत्साहजनक रहेको छ । यसमा पनि पछिल्लो समय पर्यटक आउने मुलुकमध्ये चीन चौथो नम्बरमा परेको छ । यो एकदमै राम्रो हो ।’  

विभागको तथ्याङ्क अनुसार यस वर्षको जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका छन् । जनवरीमा सबैभन्दा बढी पर्यटक भारतबाट आएको देखिन्छ । सो महिनामा भारतबाट मात्रै १६ हजार ४३६ जना पर्यटक नेपाल आएका छन् ।  

त्यसयता विदेशी पर्यटक आउने सङ्ख्या बढ्दै गएको तथ्यांकमा देखिन्छ । जनवरी महिनाको तुलनामा फेब्रुअरी महिनामा १८ हजारभन्दा बढी संख्यामा पर्यटक नेपाल आएका थिए । यस फेब्रुअरी महिनामा ७३ हजार २५५ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

अघिल्लो वर्ष सन् २०२२ को फेब्रुअरीमा १९ हजार सात सय ६६ पर्यटकको मात्र  नेपाल आगमन भएको थियो । सन् २०२१ को सोही महिनामा नौ हजार एक सय ४६ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

त्यस्तै, मार्च महिनामा करिब एक लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । मार्चमा ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका हुन् । मार्चपछि अप्रिल महिनामा पनि पर्यटक आगमन उत्साहजनक नै देखिएको छ । अप्रिल महिनामा ९८ हजार सात सय ७३ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ ।  

यस अवधिमा पर्यटक बढी आउने मुलुकमध्ये पहिलो स्थानमा भारत रहेको छ । जहाँबाट ३१ हजार चार सय ३७ पर्यटक आएका छन् । अमेरिकाबाट आठ हजार चार सय १३ पर्यटक नेपाल आउँदा बेलायतबाट पाँच हजार चार सय नौ जना पर्यटक नेपाल आएका छन् ।  

विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आगमनको यो सुधारले पर्यटन क्षेत्रलाई केही हदसम्म सकारात्मक ऊर्जा प्रदान गरेको पर्यटन व्यवसायीहरू बताउँछन् । पर्यटक आगमन बढेसँगै होटल व्यवसायी उत्साहित रहेको होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले बताए । उनले आर्थिक न्युजसंग भने, ‘लामो समयदेखि थलिएका हामी पर्यटक व्यवसायीलाई अहिले केही हदसम्म राहत मिलेको छ । अहिले होटलमा पर्यटकहरू राम्रै छन् ।’  

तर, पछिल्लो समय होटलको सङ्ख्या बढेका कारण पर्यटक स्तरका होटलहरु भरिभराउ भने नरहेको उनले गुनासो गरे । ‘होटलमा लगानी बढ्दो छ । होटलका सङ्ख्या बढिरहेका छन् । यसले गर्दा होटलहरु भरिभराउ नै चाहिँ छैनन्’, उनले अगाडी थपे, ‘होम स्टेहरु खुलेका कारण पनि उतातिर नै पर्यटकहरू बस्ने गरेका छन् ।’

शाहका अनुसार जति पर्यटक आए पनि राख्ने क्षमता नेपालका होटलहरुको छ । तर, कतिपयका संरचनाहरू भने राम्रो छैन । सरकारले बनाएको विनानस्थल सञ्चालन गर्न सकेको छैन । पर्याप्त पूर्वाधार समेत निर्माण भएका छैनन् । पर्यटक आइराखेका छन् भनेर मख्ख पर्नु भन्दा पनि सरकारले यी सबै कुरामा ध्यान दिनु पर्ने आवश्यकता रहेको उनको तर्क छ ।

त्यस्तै, उनले अनलाइनमार्फत बुकिङ गरेर आएका पर्यटकहरूको कारण पनि सरकारले राजस्व गुमाइरहेको बताए । अध्यक्ष शाहले भने, ‘धेरै पर्यटकहरू अनलाइन क्लाउड मार्फत बुकिङ गरेर नेपाल आएका छन् । उनीहरूले राजस्वमा कुनै पनि योगदान गरेका छैनन् । यसमा पनि राज्यले कदम चाल्नु पर्छ ।’  

पढौँ, यो पनि: 

ठूला होटलमा भएका लगानी जोखिममा, बढेनन् खर्च गर्ने पर्यटक

प्रतिक्रिया दिनुहोस