aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

निगमले अघि बढायो दुई वटा जहाज खरिद गर्ने प्रक्रिया

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ बैशाख २०८०
निगमले अघि बढायो दुई वटा जहाज खरिद गर्ने प्रक्रिया

काठमाडौं । नेपाल वायु सेवा निगमले दुई वटा नयाँ जहाज खरिद गर्ने प्रक्रियालाई तिव्रता दिएको छ । बैशाख २६ गते बसेको निगमको सञ्चालक समितिको बैठकले जहाज खरिद कार्य सम्पन्न गर्नका लागि उपसमिति गठन गरेसगै खरिद कार्य अघि बढ्ने भएके हो । 

निगमले जनाए अनुसार निगम संचालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ । उक्त उपसमितिले २१ कार्यदिन भित्र प्रतिवेदन बुझाउने गरी कार्य समेत सुरु गरिसकेको छ ।

जहाज खरिद गर्नुपर्ने कारण उल्लेख गर्दै, निगमले भनेको छ, ‘शहरी क्षेत्रका एयरपोर्टमा चल्ने जहाज नभएको कारण निगमले हाल शहरी एवं व्यापारिक हिसावले फाइदाजनक क्षेत्रमा उडान भर्न सकेको छैन । निगमले दुई वटा जहाज खरीद गरेपश्चात काठमाडौ, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायत नेपालका शहरी क्षेत्रबाट प्रादेशिक उड़ान भरी अझै धेरै यात्रुहरुलाई सेवा प्रदान गर्न सकिने छ ।’

निगमका अनुसार यी जहाजहरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक समन्वय गरी नियमानुसार पारदर्शी रूपले खरीद गरिनेछ । जहाज खरीद पश्चात् अन्तर्देशीय पर्यटन प्रबर्द्धन हुने, निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडा दर केहि हदसम्म सुपथ हुने र निगमको सेवा प्रभावकारी भई उपभोक्ता हित संरक्षण हुनेछ ।

नेपालको प्रादेशिक (अन्तर प्रदेश) हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले शहरी क्षेत्रका एयरपोर्ट (ट्रंक रुट) मा उडान भर्न सक्ने दुई वटा जहाज खरीद गर्ने कार्य योजना अघि बढाउन निगम व्यवस्थापनको उप समितिले आफ्नो प्रतिवेदन पेश गरिसकेको छ । 
 

प्रतिक्रिया दिनुहोस