काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सूचना प्रविधिको आविष्कारलाई मुलुकको आर्थिक समृद्धि, सामाजिक जीवनको उन्नतिका लागि सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर आज नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको ‘स्पेक्ट्रम म्यानेजमेन्ट’ सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
डिजिटल विभेद न्यून तथा डिजिटल समावेशिता कायम गर्ने गरी पूर्वाधार निर्माण गर्न सरकार जुटेको उनको भनाइ छ । ‘पछिल्लो समय हाम्रामा इन्टरनेट र टेलिकम्युनिकेसनको विकासको जुन अवस्था छ धेरै नै द्रुत गतिमा आइरहेको छ । यसमा हाम्रो गति केही कम भएको हो की जस्तो लाग्छ । यसका लागि हामीले नीतिगत, कानुनी पक्षहरूलाई सुधार गर्नु पर्ने आवश्यकता रहेको छ’, उनले भने ।
दूरसञ्चार ऐनदेखि लिएर साइबर सुरक्षा ऐन लगायतका महत्त्वपूर्ण विद्येयकहरुलाई पनि अगाडी लैजानका लागि मन्त्रालयहरूले काम गरिरहेको समेत सचिव राउतले बताए । साथै आइसिटी भनेको एउटा क्षेत्र मात्र नभएर यो क्रस कटिङ विषय रहेको समेत उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस