aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पाँच सयले गरे सगरमाथाको आरोहण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ जेठ २०८०
पाँच सयले गरे सगरमाथाको आरोहण

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा करिब पाँच सयले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा आजसम्म आरोही तथा शेर्पा सहयोगी गरी पाँच सयले सगरमाथा आरोहण गरेका हुन् ।

विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले सोमबारसम्म करिब पाँच सयले सगरमाथा आरोहण गरेको बताए । “वसन्त ऋतुको सगरमाथा आरोहणमा चार सय ७८ ले आरोहण अनुमति ‘एक्सपीडिसन पर्मिट’ लिएकामा आजसम्म करिब पाँच सयको हाराहारीले सगरमाथाको सफल आरोहण गरेका छन् । यसमा आरोही तथा शेर्पा गाइड पनि छन्”, महानिर्देशक लुइँटेलले भने।
     
मौसमले साथ दिएकाले अहिले सगरमाथालगायत हिमालमा उत्साहबर्द्धक रूपमा आरोहण भइरहेको विभागले जनाएको छ । यस वर्षको वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेबाट सुरु भएको थियो । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो ।

वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । विभागको पर्वतारोहण शाखाको विवरणमा ४७ आरोही समूहका एक सय तीन महिला र तीन सय ७६ पुरुष गरी कूल चार सय ७८ आरोहीले आरोहण अनुमति लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस