
काठमाडौँ । युवालाई नवीनतम आविष्कारमा जोड्नु पर्ने र नयाँ खोज अनुसन्धानको लागि सरकारले बजेटमा व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै केही साता अघि माइतीघर मण्डलामा धर्नामा बसेका महावीर पुन अहिले धमाधम आफ्ना उत्पादनहरू बिक्री गरिरहेका छन् ।
केही महिना अघि नेपालबाट अन्न भुट्ने मेसिन भारतका एक उपभोक्तालाई बिक्री गरेका उनले आफ्नो नेतृत्वमा रहेको आविष्कार केन्द्रले उत्पादन गरेका विभिन्न साइजका ड्रायर (सुकाउने मेसिन ) हरू बिक्रीका लागि राखिएको जानकारी दिएका छन् ।
आफ्नो फेसबुकवालमा ड्रायरको तस्बिर राख्दै उनले त्यस्तो मेसिन किन्ने ग्राहकको समेत तस्बिर र ठेगाना सार्वजनिक गरेका हुन् ।
उनले शनिवार बिहान लेखेको फेसबुक स्ट्याटसमा उल्लेख छ- ‘लौ हेर्नु होस्, घरैमा घामबाट तरकारी र खाने कुराहरू सुकाउनको लागि सानो साइजको सोलार ड्रायर । यस्ता ३ वटा ड्रायरहरू सिन्धुपाल्चोकमा प्रतिगोटाको ५० हजार रुपैंयामा बेचियो ।“
ड्रायरको उपयोगिता र त्यसको साइजबारे पनि पुनले आफ्नो प्रचारात्मक स्ट्याटसमा प्रष्ट्र पारेका छन् । उनले लेखेका छन्, “यसलाई घरको छतमा पनि राख्न सकिन्छ । यसको साइज २० वर्ग फिट छ ।“
आफुहरुले हालसम्म १० ओटा ठुला आकारका ड्रायर बिक्री गरिसकेको उनले जनाएका छन् । प्रतिगोटा तीन लाख रुपैयाँमा त्यस्ता ड्रायर बिक्री गरेको पुनले जानकारी दिएका हुन् ।
सो सम्बन्धी जानकारी दिँदै उनले लेखेका छन्, “ठुलो साइजको ड्रायर अहिले सम्म १० ओटा बेचियो । त्यसमा बिजुलीको हिटर राखेर राती पनि सुकाउन मिल्छ र त्यसमा तापक्रम कन्ट्रोल गर्ने कन्ट्रोलर पनि हुन्छ ।“
यसको मूल्य हिटर, कन्ट्रोलर सहित ३ लाख रुपैंया रहेको महावीरले बताएका छन् । उनी अगाडी लेख्छन्, “ढुवानी ग्राहकले नै तिर्ने हो र जडान गर्न हाम्रा टेक्निसियनहरु आउँछन् । कृषि सामाग्रीहरूमा भ्याट लाग्दैन भन्ने नियम रहेछ र भ्याट लाग्दैन । ठुलो ड्रायरको साइज १०० वर्ग फिट छ ।“
यी ड्रायरहरूको निर्माण प्रविधि र त्यसमा प्रयोग गरिएका सामग्रीको बारेमा पनि पुनले जानकारी दिएका छन् । उनका अनुसार यसमा विशेष किसिमको पोलिकार्बोनेट पाता प्रयोग गरिएको हुन्छ जसले गर्दा ड्रायर भित्रको ताप बाहिर जान सक्दैन ।
पुनले बताए अनुसार यो पाता जर्मन टेक्नोलोजी हो र घाम बाट सुकाउने कुरामा एकदम राम्रो छ। यसमा जे सुकै चिज पनि सुकाउन सकिन्छ । पुनको आविष्कार केन्द्रले उत्पादन गरेको यो सामग्री किन्न चाहनेले मोबाइल नम्बर ९८४१५९२३६१ मा सम्पर्क गर्न सकिने पुनले बताएका छन्।
प्रतिक्रिया दिनुहोस