काठमाडौं । पर्यटन प्रवर्द्धनका बुधवार लागि एक सम्झौता भएको छ । होटल संघ नेपालको आयोजनामा नेपाल पर्यटन बोर्ड र बङ्गलादेशस्थित नेपाली राजदूतावासको सहयोगमा ढाकामा पर्यटन प्रवर्द्धन तथा बीटुबी कार्यक्रम भएको हो ।
उक्त अवसरमा बंगलादेशका विभिन्न सहरका प्रतिष्ठित संघ संस्था तथा ९० भन्दा बढी पर्यटन व्यवसायीहरूको उपस्थितिमा होटल संघ नेपालको नेपाली प्रतिनिधिमण्डलका २४ होटल सदस्यहरूले बीटुबी कार्यक्रम सम्पन्न गरेका छन् । सो अवसरमा सम्बोधन गर्दै प्रतिनिधिमण्डललाई नेतृत्व गर्ने होटल संघका अध्यक्ष विनायक शाहले यस कार्यक्रमबाट बंगलादेशबाट नेपाल आउने पर्यटकको सङ्ख्या बढावा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, बंगलादेशका पर्यटन मन्त्रालयका अतिरिक्त सचिव, बंगलादेश पर्यटन बोर्डका निर्देशकले, विभिन्न पर्यटनसँग सम्बन्धित छाता संगठन, सरकारी अधिकारीहरू र सार्क मुलुकको प्रतिनिधित्व गर्ने पत्रकारहरूको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा होटल संघ नेपाल (हान) र बंगलादेश इन्टरनेशनल होटल एसोसिएसन (बिहा) बीच पर्यटन प्रवर्द्धन र दुवै मुलुकमा आतिथ्य क्षेत्रको विकासका लागि सहकार्यका लागि अवसर खोज्न बुधवार जुन २१ का दिन समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुवै संस्थाका तर्फबाट हानका अध्यक्ष विनायक शाह र बिहाका अध्यक्ष एचएम हकिम अलीले हस्ताक्षर गरेका हुन् ।
बङ्गलादेशी पर्यटकमाझ नेपालको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै देशको पर्यटन प्रवर्द्धन गर्न होटल एशोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाहको नेतृत्वमा २४ सदस्यीय होटल व्यवसायीको टोली सोमबार बंगलादेश गएको हो ।
प्रतिक्रिया दिनुहोस