aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

क्युआर भुक्तानीमा आवद्ध हुन फोनेपे र नमस्ते पेबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ असार २०८०

काठमाडौं । नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपे र नमस्तेपेबीच फोनपे क्युआर भुक्तानी नेटवर्कमा आबद्ध हुन सम्झौता भएको छ । बुधबार एक कार्यक्रमको आयोना गर्दै उक्त सम्झौता पत्रमा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले हस्ताक्षर गरेका हुन् ।  

कार्यक्रममा फोनपे र नमस्तेपेका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । यो सम्झौतासँगै सबै नमस्तेपे प्रयोगकर्ताहरूले नेपालभरका फोनपे नेटवर्क मार्फत छिटो, सुरक्षित र सजिलो रूपमा क्युआर भुक्तानी गर्न सक्नेछन् ।

सम्झौता हस्ताक्षरपछि कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले भने, ‘फोनपेको नेटवर्कमा नमस्तेपेलाई आधिकारिक रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौं । अब नमस्तेपे प्रयोगकर्ताहरूले फोनपे क्युआर मार्फत पनि भुक्तानी गर्न सक्छन् । हामी विश्वस्त छौं कि नमस्तेपेसँगको सहकार्यले डिजिटल भुक्तानीलाई नेपालमा प्रवर्द्धन गर्न थप मद्दत गर्नेछ ।’

उक्त सम्झौताले प्रयोगकर्ताहरूलाई व्यापक र सुविधाजनक डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने गर्न सहयोग पुग्ने कम्पनीले जनाएको छ । नमस्तेपेसँगको साझेदारीले ग्राहकहरूलाई अझै बढी भुक्तानी विकल्पहरू मिल्नुका साथै समावेशी वित्तीय इकोसिस्टममा थप बढावा पुगेको समेत कम्पनीको भनाई छ ।

त्यसैगरी नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले भने, ‘फोनपे नेटवर्कलाई हाम्रो भुक्तानी प्रणालीमा समेटी हाम्रा प्रयोगकर्ताहरूलाई १२ लाख भन्दा बढी मर्चेन्टहरूमा भुक्तानी गर्ने सेवा दिन पाउँदा हामी निकै उत्साहित छौं । यो सहकार्यले हाम्रा मूल्यवान ग्राहकहरूलाई निर्वाध सुरक्षित र सुविधाजनक कारोबार र सरल भुक्तानी अनुभव सुनिश्चित गर्दछ ।’

प्रतिक्रिया दिनुहोस